सिरहा । जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि सडक व्यवस्थापन भने प्रभावकारी हुन सकेको छैन । सडक विस्तारपछि सहज आवतजावतको अपेक्षा गरिए पनि जथाभावी पार्किङ र ठेलापसलका कारण मुख्य सडक दैनिक रूपमा अवरुद्ध हुने गरेको छ ।
नगरलाई व्यवस्थित बनाउने उद्देश्यसहित सिरहा नगरपालिकाले हाल २२ जना नगर स्वयंसेवक नियुक्त गरेको छ । तर, स्वयंसेवकहरूको उचित र प्रभावकारी परिचालन नहुँदा सदरमुकाम क्षेत्रको मुख्य सडक सवारीसाधन र सडक पसलेका कारण सधैं जाम हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । विशेषगरी सिरहा जिल्ला अदालत अगाडिको सडक खण्ड दैनिक रूपमा अवरुद्ध हुने समस्या अझै समाधान हुन सकेको छैन ।

नगर स्वयंसेवकमार्फत सडक व्यवस्थापन र अनुशासन कायम गर्ने प्रयास गरिए पनि मुख्य सडकमा सवारीसाधनको अव्यवस्थित पार्किङ, ठेलागाडा तथा अन्य व्यावसायिक गतिविधि नियन्त्रण गर्न नगरपालिका असफल देखिएको छ । सडक क्षेत्रमा जथाभावी सवारीसाधन पार्क गर्दा एकातिर सवारी आवागमन प्रभावित भएको छ भने अर्कोतिर पसलेहरूले पैदलयात्री हिँड्ने फुटपाथमै सामान राख्दा सर्वसाधारणलाई आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ ।

स्थानीय बासिन्दा र अदालतमा सेवा लिन आउने सेवाग्राहीहरूले पटक–पटक सडक अवरुद्धको गुनासो गरे पनि समस्या समाधानप्रति नगरपालिकाको ध्यान पुगेको छैन । उनीहरूका अनुसार धुलो, भीडभाड र जोखिमबीच यात्रा गर्न बाध्य हुनु परेको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता अरविन्द यादवले नगर स्वयंसेवकको अवधारणा सकारात्मक भए पनि त्यसको परिचालन जिम्मेवार र योजनाबद्ध ढंगले हुन नसकेको बताए । “नगर स्वयंसेवक राख्नु मात्र पर्याप्त होइन, उनीहरूलाई स्पष्ट जिम्मेवारीसहित प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ,” उनले भने ।
यता नगरपालिकाका कर्मचारीहरूले भने नगर स्वयंसेवकलाई नियमित रूपमा सडक व्यवस्थापन र अनुशासन कायम गराउन खटाइएको दाबी गरेका छन् । तर, नगरपालिकाले कमजोरी लुकाउने प्रयास गर्दा त्यसको प्रत्यक्ष असर सदरमुकाम आउने स्थानीय तथा ग्रामीण क्षेत्रका सेवाग्राहीले भोग्नुपरेको नागरिकहरूको आरोप छ ।
मुख्य सडक नै छेक्ने गरी ठेलापसल राख्ने र अव्यवस्थित व्यापार बढ्दै जाँदा आगामी दिनमा थप जोखिम निम्तिन सक्ने जानकारहरूको चेतावनी छ । स्थानीय नागरिक अगुवा शम्भू साहले सडक अवरुद्ध रोक्न तत्काल प्रभावकारी उपाय, निश्चित पार्किङ स्थलको व्यवस्था र कानुनी कारबाही आवश्यक रहेको बताए । नगर स्वयंसेवकसँगै ट्राफिक प्रहरीको सक्रिय भूमिका र नगरपालिकाबीच आवश्यक समन्वय हुनुपर्ने उनको सुझाव छ ।
यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुसँग फोन सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको थियो ।



