सिरहा । सिरहा नगरपालिका–७ को आयोजनामा गरिब, असहाय तथा ज्येष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरिएको छ । जाडो मौसमका कारण विपन्न तथा ज्येष्ठ नागरिकलाई पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त राहत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीन कुमार यादव र वडा नम्बर ७ का वडा अध्यक्ष बिनोद कुमार यादवको विशेष पहलमा सम्पन्न भएको हो । उनीहरूको समन्वय र सक्रियतामा वडा भित्रका गरिब, असहाय तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडास्वरूप फाइबर सिरक वितरण गरिएको हो ।
सिरक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख डा. नवीन कुमार यादवले जाडो मौसममा विपन्न, असहाय तथा ज्येष्ठ नागरिकलाई न्यानोको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण हुने बताए । उनले नगरपालिकाले सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता मानवीय तथा राहतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । साथै, स्थानीय तहको दायित्व जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नु रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी वडा नम्बर ७ का वडा अध्यक्ष बिनोद कुमार यादवले वडावासीको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै लक्षित वर्गका लागि राहत कार्यक्रम सञ्चालन गरिएको बताए । जाडोका कारण हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडा कार्यालय सधैं जनताको सेवामा प्रतिबद्ध रहेको उनले बताए ।

सिरक प्राप्त गरेका ज्येष्ठ नागरिक तथा विपन्न वर्गका व्यक्तिहरूले जाडो मौसममा न्यानो सिरक पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नगरपालिका र वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले स्थानीय सरकारप्रति जनविश्वास बढ्ने बताएका छन् ।

स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा वडावासीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ४२५ जना गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको थियो । वितरण गरिएको सिरकले जाडोबाट प्रभावित हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय