सिरहा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिरहाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले आइतबार जारी गरेको विज्ञप्तिमार्फत निर्वाचन सञ्चालनका लागि आवश्यक प्रशासनिक नेतृत्व टुंगो लगाएको जनाएको छ।

आयोगका अनुसार सिरहाको मुख्य निर्वाचन अधिकृत को जिम्मेवारी सिरहा जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेती लाई दिइएको छ। उनले सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को समेत जिम्मेवारी सम्हाल्नेछन्।

त्यसैगरी, सिरहा–१ मा निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका उपरजिस्ट्रार फनिन्द्रराज भट्टराई, सिरहा–२ मा सर्वोच्च अदालत काजमा रहेका प्रशासकीय अदालतका इजलास अधिकृत नवराज जोशी, सिरहा–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत शिव वाग्ले लाई जिम्मेवारी तोकिएको छ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम गरिएको यो नियुक्ति पौष २५ गतेदेखि लागू हुनेछ। नियुक्त अधिकृतहरूले माघ २ भित्र आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्नेछ।

कार्यालय स्थापना भएसँगै मतदान, मतगणना, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्री वितरण तथा निर्वाचन सुरक्षा समन्वय लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता तोकिएको छ। सोही अनुसार आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ। आयोगका प्रवक्ता भट्टराईका अनुसार आगामी केही दिनमै निर्वाचन अधिकृतका कार्यालयहरू औपचारिक रूपमा सञ्चालनमा आउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय