सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा नयाँ प्रशासकीय अधिकृतका रूपमा शाखा अधिकृत सुजितकुमार यादव हाजिर भएका छन् । यादवले शुक्रबारदेखि विधिवत् रूपमा नगरपालिकाको प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका हुन् ।
कार्यबाहक मेयर रेखादेवी यादवले शुक्रबार दिउँसो नगर कार्यालयमा आयोजित कार्यक्रममा प्रशासकीय अधिकृत यादवलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यस अवसरमा कार्यबाहक मेयर यादवले बीचमा अवरुद्ध बनेको नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका काम अब द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

यसअघि सामान्य प्रशासन मन्त्रालयद्वारा पठाइएका उपसचिव कमलबहादुर थापा सुरुवातमै विवादमा परेपछि मन्त्रालयले उनलाई फिर्ता गर्दै सुजितकुमार यादवलाई कल्याणपुर नगरपालिकाको जिम्मेवारी दिएको हो ।
नव नियुक्त प्रशासकीय अधिकृत यादव यसअघि जिल्ला प्रशासन कार्यालय, सिरहामा कार्यरत थिए । उनले यसअघि पनि विभिन्न स्थानीय तह तथा सरकारी कार्यालयहरूमा रहेर कुशल कार्यसम्पादन गर्दै आएका छन् ।
नगरपालिकाको प्रशासनिक कार्य व्यवस्थापन सुदृढ बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।



