जनकपुरधाम । मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि आगामी पुस ६ गते आइतबार निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले उक्त जानकारी प्रदेश सभामा गराउनुभएको हो।

सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो। निर्वाचनका लागि प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिइएको छ।

बुधबारको बैठकमा उपसभामुख राउतले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट प्राप्त विभिन्न विषयगत पत्रहरू बैठकमा पढेर सुनाउनुभएको थियो।

प्रदेश सभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने गरी बैठक स्थगित गरिएको घोषणा पनि उपसभामुखले गर्नुभयो। बुधबारको बैठक करिब आधा घण्टामात्र चलेको थियो।

बैठकमा सभामुखसँग अनुमति लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेश सभा सदस्य ललिता विद्रोहीले आफूलाई सवारी दुर्घटनाको नाममा हत्या गर्ने प्रयास भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय