महोत्तरी । खेतबारीमै सम्भावना खोजे आत्मनिर्भरता सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् महोत्तरीको ग्रामीण भेगका एक कृषक । व्यावसायिक सयपत्री फूलखेतीमार्फत लालबाबु भण्डारीले वार्षिक सात लाख रुपैयाँसम्म बचत गर्न सफल भएका छन् ।
महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबुले करिब २० कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन् । दुई स्थानमा १०–१० कट्ठा जमिनमा लगाइएको फूलखेतीबाट उनी निरन्तर आम्दानी लिइरहेका छन् ।
लालबाबुको दैनिकी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खेतमै बित्छ । फूलको बिरुवाको हेरचाह, सिँचाइ, मलखाद्य व्यवस्थापनदेखि फूल टिप्ने कामसम्म उनी स्वयं सक्रिय छन् । यस कार्यमा उनका दुई छोरा विकास र आकाशले पनि सघाइरहेका छन् ।
उनका अनुसार भारतको मुज्जफरपुरबाट प्रतिविरुवा दुई भारतीय रुपैयाँमा सयपत्रीका बिरुवा ल्याई रोपाइँ गरिन्छ । “एक बिरुवा हुर्किन २० देखि ४० दिन लाग्छ,” उनले भने, “सप्रिएपछि एउटै बिरुवाले तीन–चार महिनासम्म फूल दिन्छ ।”
दश कट्ठामा लगाइएका करिब एक हजार २०० बिरुवाबाट एकैपटक फूल फुल्दा दिनमै ५० किलोसम्म उत्पादन हुने लालबाबु बताउँछन् । फरक–फरक समयमा फुल्ने गरी दुई स्थानमा खेती गरेकाले वर्षभरि निरन्तर फूल बिक्री गर्न सकिएको उनको भनाइ छ ।
सयपत्री फूलको माग सधैँ रहने भएकाले बजारको अभाव छैन । “एउटा फूल उनेको मालाको ५० देखि ७० रुपैयाँ पर्छ,” उनका छोरा विकासले भने, “घरमै आउने व्यापारीलाई ४० रुपैयाँमा बिक्री गर्छौँ । यसबाट दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” थोकमा प्रतिकिलो चारदेखि पाँच सय रुपैयाँमा बिक्री गर्दा दैनिक दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछन् ।
लालबाबुले घरमै ‘जयमा फूल भण्डार’ सञ्चालन गरेका छन् । वर्षभरको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म बचत गर्न सफल भएको उनी बताउँछन् ।
ग्रामीण क्षेत्रमा सीमित स्रोतसाधनबीच पनि मेहनत, योजना र निरन्तरताले व्यावसायिक सफलताको ढोका खोल्न सकिन्छ भन्ने उदाहरण बनेको छ लालबाबुको फूलखेती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय