रामजानकी विवाह पञ्चमी महोत्सव अवसरमा नेपाली सेनाको पहल
जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाले जनकपुरधामस्थित बारबिघामा तीनदिने बृहत स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । सोमवार उक्त शिविरको प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले विशेष समारोहबीच उद्घाटन गरे ।
नेपाली सेना शिविर व्यवस्थापन समितिका अनुसार शिविरमा बालरोग, फिजियोथेरापी, हाडजोर्नी, छाला रोग, नाक–कान–घाँटी, स्त्रीरोग तथा आँखाका मोतियाबिन्दु सम्बन्धी सेवा उपलब्ध गराइनेछ । मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था छ ।
शिविरका लागि काठमाडौँबाट चार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली जनकपुर आएका छन् भने अन्य जनशक्ति जनकपुर प्रादेशिक अस्पतालबाट खटाइएको छ ।
प्रदेश प्रमुख कर्णले बर्दिवासस्थित श्री मध्यपूर्वी पृतनाअन्तर्गतका युनिटहरूको संयोजनमा सञ्चालन गरिएको यो शिविरले “स्थानीयवासीका लागि ठूलो राहत र प्रभावकारी सेवा दिने” विश्वास व्यक्त गरे ।
त्यसैगरी मध्यपूर्वी पृतनाका पृतनापति एवम् उपरथी कृष्णबहादुर जिसीले रामजानकी विवाह पञ्चमी महोत्सव “मधेस प्रदेश मात्र नभई सम्पूर्ण देशकै महत्वपूर्ण सांस्कृतिक उत्सव” भएको उल्लेख गर्दै सेनाको नागरिक–मैत्री गतिविधि यो शिविरमार्फत झनै सशक्त हुने बताए ।
शिविर उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका मन्त्रीहरू लखन दास, कञ्चन विच्छा, बृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, उच्च सुरक्षा अधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।
श्री विष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज अमगाईंका अनुसार स्वास्थ्य उपचारसँगै नेपाली सेनाको फोटो प्रदर्शनी, राष्ट्रिय सेवा दलसम्बन्धी जानकारीमूलक प्रदर्शनी, सेनाको भर्ना तथा छनोटसम्बन्धी स्टल, सर्पदंश उपचारसम्बन्धी जानकारी लगायतका आकर्षक कक्ष पनि शिविरमा राखिएका छन् ।
जनकपुरधाममा वर्षेनि जस्तै यसपटक पनि विवाह पञ्चमीको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वलाई समेट्दै नेपाली सेनाको बृहत स्वास्थ्य शिविरले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!