सिरहा । कतारमा नेपालीहरुको सशक्तीकरणको गर्न गैर आवासिय नेपाली संघ (एनआरएनए)एनसीसी कतार र क्युएसटी कतार बीच ऐतिहासिक सम्झौता भएको छ ।
कतारमा बस्दै आएका नेपाली समुदायलाई लक्षित गरी उनीहरुको सीप विकासमा योगदान हुनेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पेशागत विकास प्रशिक्षण (क्यारियर डेभलपमेन्ट टे«निङ) गर्न सम्झौता गरिएको एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जनाएका छन् । एनसीसी कतारका अध्यक्ष पन्थी र क्युएस्टीकीका म्यानेजिङ डाइरेक्टर यास्मिन नाजले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउँको लागि हुनुपर्ने साधारण ज्ञान सम्बन्धि निःशुल्क प्रेरणामुलक तालिम सम्झौता कार्यक्रममा सहभागीहरुलाई दिइएको थियो ।

कार्यक्रममा प्रशिक्षण विशेषज्ञ उमेश महरा र गोपाल बस्यालले रोजगारी, सीप विकास तथा व्यक्तिगत प्रगतिको क्षेत्रमा प्रत्यक्ष प्रयोग हुने ज्ञान र मार्गदर्शन प्रदान गरेका थिए । सहभागीहरूलाई आगामी यात्रामा अझ सक्षम, आत्म विश्वासी र प्रतिस्पर्धी बनाउन सकिने जनाएको छ । एनसीसी कतार र क्युएस्टी ट्रेडिङ एण्ड कन्सलटेन्सी कतार बीच भएको नेपाली समुदायलाई अभिवृद्धि गर्ने ऐतिहासिक सहकार्य सम्झौता पत्रमा अनुसार कतारमा रहेका नेपाली श्रमिक, पेशागत व्यक्ति तथा विद्यार्थीहरूलाई निःशुल्क र छुट सहितका तालिमहरू प्रदान गरिने कुराहरु उल्लेख गरिएको छ । जसले नेपाली समुदायको सीप, योग्यता र अवसरलाई नयाँ उचाइमा पु¥याउने दुवै पक्षले विश्वास लिएको छ ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार प्रमाणपत्र सहित निःशुल्क तालिमहरुमा २० जनालाई आईओएसएच सुरक्षित रूपमा व्यवस्थापन (स्वास्थ्य र सुरक्षा), २० जनालाई खाद्य सुरक्षा एचएसीसीपि लेवल दुई, १० जनालाई खाद्य सुरक्षा एचएसीसीपि लेवल तिन, पाँच जनालाई हाईफिल्ड अप्रोभेट ट्रेन द ट्रेनर र वर्षभर तीन चरणमा ५० जना नेपाली सहभागीहरुका लागि निःशुल्क माइक्रो सफ्ट अफिस र डकुमेन्ट कन्ट्रोलर सम्बन्धि कम्प्युटर तालिमको कोर्स समावेश रहनेछन् ।
त्यस्तै त्रैमासिक रुपमा निःशुल्क जनचेतनामूलक कार्यक्रम दुवै संस्थाले प्रत्येक तीन महिनामा एकपटक समुदाय कल्याण, सामाजिक सचेतना, स्वास्थ्य तथा सुरक्षा र गर्मीजन्य तनाववारे जागरुकताको साथै गर्मीको मौसममा श्रमिकहितमा लक्षित विशेषरुपमा ताप–तनाव सचेतना अभियान पनि निःशुल्क रूपमा सञ्चालन गरिने सहमति गरिएको छ । अतिरिक्त तालिमहरूमा एचएबीसी हाईफिल्ड इन्टरनेशनल युकेका सबै कोर्समा ५० प्रतिशत, ओटिएचएम युके योग्यताहरूमा १५ देखि २० प्रतिशत र पिएक्यू युके योग्यताहरूमा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
एनसीसी कतारका सचिव अर्जुन सग्रौलाले सहजीकरण गरेका कार्यक्रमको समापन गर्दै अध्यक्ष पन्थीले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै कतार स्थित नेपाली समुदायहरुलाई उत्थान हुने गरी सीप विकास, पेशागत क्षमता वृद्धि र अवसर विस्तारका कार्यक्रमहरू लाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।



