बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आगामी मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गरेका छन्। प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुँवरले जानकारी दिए।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्।
दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ। विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछ। गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो।



