सिरहा । सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूल र जनकपुर बोल्ट्सवीच खेलकुद प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ ।
विद्यालयको निर्माणधीन कर्भडहलमा विशेष रुपमा हस्ताक्षर समारोहको आयोजना गरिएको र जनकपुर बोल्ट्सका निर्देशक सुजल कमार कलवार र सगरमाथा स्कूलको तर्फबाट प्राचार्य प्रदीप तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौत पत्र आदान प्रदान गरेका छन् । हस्ताक्षर समारोहमा नेपाल राष्ट्रिय टोलीका एवं जनकपुर बोल्ट्सका चर्चित खेलाडी ललित राजवंशीको समेत उपस्थिती रहेको थियो ।
नेपाल प्रिमियर लिग सिजन १ को च्याम्पियन रहेको जनकपुर बोल्ट्ससँग विद्यालय, विद्यार्थी र समुदायको विकासको उद्देश्य लिएर एक वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षले शैक्षिक व्यवसायिक र सामाजिक उत्तरदायित्व वहन र संस्थागत विकासका क्षेत्रमा सहकार्य गर्ने गरी सहमति गरेको सगरमाथा स्कूलका प्राचार्य प्रदिप तिवारीले बताएका छन् ।

शैक्षिक, प्राविधिक तथा सीपमूलक विकासका लागि सहकार्य प्रवद्र्धन, जनकपुर बोल्ट्सको निर्देशन अनुसार पिरीयोडिक कार्यशाला गोष्टि, तालिम, भ्रमण र अन्य शैक्षिक कार्यक्रम निर्धारित क्यालेन्डर अनुसार आयोजना, शिक्षक, विद्यार्थी र पेशेवरविच ज्ञान र अनुभव साटासाट, नवप्रवर्तन, अनुसन्धान र सामुदायिक सेवा कार्यक्रमहरुमा सहकार्य गरी सम्झौता भएको प्राचार्य तिवारीले बताए ।
सम्झौता भएपछि सगरमाथा स्कूल जनकपुर बोल्ट्सको सहयोगी भएकोले पनि आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकालाई क्रिकेट खेलसँग जोड्ने, उनीहरुलाई प्रवद्र्धन गर्न खेल मैदानसँगै प्रशिक्षण स्थल बनाउन लागेको प्राचार्य तिवारीले बताएका छन् ।
सो समारोहमा सहभागि राष्ट्रिय टोलीका खेलाडी राजवंशीले बालबालिकालाई कुनैपनि खेलप्रति कठिन मिहिनेत गर्नुपर्ने र त्यसको निम्ति तयार रह्नुपर्ने बताएका छन् । कडा परिश्रमण, धैर्यतासँगै खेलको निम्ति तयारी गर्नुपर्ने भन्दै राजवंशीले आफूपनि विद्यालयका बालबालिकालाई विशेष रुपमा हेर्ने गरेकोले उनीहरुले अगामी दिनमा अझैं मिहिनेत गर्नुपर्ने धारणा राखेका थिए । त्यस अवसरमा विद्यालयका बालबालिकाले साँस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा जिल्ला क्रिकेट संघका उपाध्यक्ष मनोज साह, सचिव विकल विष्ट, पत्रकारहरु सुरेन्द्र कुमार कामति, विनय आजाद, रामनारायण ठाकुर, श्याम ठाकुर लगायतको उपस्थिती रहेको थियो ।



