नेपाली राजनीति यति तरल अवस्थामा छ कि कसैले अनुमान नै गर्न सकिरहेका छैनन्। २३ भदौमा जेनजीहरू सडक आन्दोलनमा उत्रिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनि गृहमन्त्री रमेश लेखकसहितका नेताहरूले यति चाँडै सत्ता ढल्छ भनेर कल्पना नै गरेका थिएनन्।

सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्न आतुर थिए। तर, राज्य दमनमा सोही दिन १९ युवा मारिएपछि अर्काे दिन सत्ता नै ढल्यो। सिंहदरबार, संसद भवन, प्रधानमन्त्रीनिवास, शितलनिवास जले, प्रधानमन्त्री, मन्त्री र दलका नेताहरु सेनाको सुरक्षामा पुगे। देउवा र उनकी पत्नी आरजु देउवामाथि त कुटपिट नै भयो।

त्यतिखेर लागेको थियो,अब सेनाले टेकओभर गर्छ। तर, जेनजीको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो। आगामी २१ फागुनमा चुनाव घोषणा भयो। संसद विघटन गरेर चुनाव घोषणा भएपछि धेरैलाई लागेको थियो, अब राजनीति लयमा आयो। चुनाव हुन्छ। तर, फेरि अर्काे आपत आइलागेको छ। ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चल्न थालेको छ। त्यति मात्र होइन सुदन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगे।

तर, प्रहरी प्रशासनले जाहेरी प्रक्रिया पूरा नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेको छ। घटनामा संलग्न राज्य पक्षका व्यक्तिहरूलाई कारबाहीको माग गर्दै दबाब बढिरहेको छ। सरकारले भने घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिसकेको छ। आयोगले छानबिन गरिरहेको छ। कार्की नेतृत्वको आयोगलेसमेत काम गरिरहेका बेला तत्काल दर्ता हुने स्थिति नरहेको भन्दै प्रहरीले दर्ता गर्न मानेको छैन।

तर, आयोगले प्रदर्शनमा तत्कालीन ओली नेतृत्वको सरकारको भूमिकाबारे समेत अध्ययन गरिरहेको छ । यो घटनामा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो। आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,पूर्वगृहमन्त्री रमेश लेखक,राष्ट्रिय अनुसन्धान विभागका र तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न भन्दै गृह प्रशासनलाई पत्राचार गरेको थियो । उनीहरूलाई आयोगको स्वीकृतिबिना काठमाडौं छाड्न समेत रोक लगाइएको थियो ।

ओली र लेखकलाई पक्राउ गर्न भने त्यति सहज छैन। किनकी यही विषयलाई दलहरुले मुद्दा बनाएमा चुनाव नहुने स्थिति आउन सक्छ। अहिलेको अवस्थामा दलहरुलाई विश्वासमा लिएर चुनाव गर्नुपर्ने म्यान्डेट सरकारलाई छ। चुनाव लम्बिदै जाँदा नेपाली राजनीति झन तरल बन्ने पक्का छ। यसले चलखेल बढाउने छ।छानबिन आयोग बनिसकेको छ। अख्तियारले पनि सक्रियता देखाउन खोजेको छ। सबै जिम्मेवारी अख्तियारलाई दिएर अब सबैजना चुनावतिर लाग्नुपर्छ नत्र भने देश अस्थिरतातिर जान्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय