सिरहामा विद्युत् चुहावट हरेक वर्ष बढ्दै गएको छ। नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चुहावट ३१.६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा यो बढेर ३८.१० प्रतिशत पुगेको छ। हालैको तथ्यांकअनुसार आव २०८२/८३ को साउनसम्ममा चुहावट झनै बढेर ४४.४६ प्रतिशत पुगेको छ।
वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार चुहावटको मुख्य कारण हुकिङ गरेर कृषि मिटरको दुरुपयोग हुनु हो। लामो खडेरीका कारण धान रोपाइँ र सिँचाइका लागि केही लचिलो नीति अपनाइए पनि प्राधिकरण अब कडाइका साथ चोरी नियन्त्रणमा लाग्ने उनले स्पष्ट पारेका छन्।

उनले भने, ‘यस वितरण केन्द्रबाट १७ हजार कृषि मिटर वितरण गरिए पनि किसानले मुस्किलले पाँच हजार मिटरमात्र खेतमा राखेका छन्, बाँकी सबै घरमै राखेर दुरुपयोग गरिएको छ।’ कृषि मिटरको सुरक्षित प्रयोग नगर्दा हरेक वर्ष मानिसको मृत्यु भइरहेको जानकारी दिँदै गुप्ताले विद्युत् चोरी नियन्त्रण गर्न कानुनी कारबाही कडाइका साथ लागू गरिने बताएका छन्।
प्राधिकरणका अनुसार विद्युत् चुहावटको प्रमुख कारण चोरीलाई कम गर्न सके यसले चुहावट नियन्त्रणमा सहयोग गर्नुका साथै प्राधिकरणको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्नेछ। यसका लागि प्राधिकरणले मिटरको माग गर्दा तोकिएको समयमै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कार्यालयले विद्युत् चोरीलाई सामाजिक अपराधका रूपमा स्थापित गर्दै स्थानीय तहसँग साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ अनुसार चोरीबाट वितरकलाई हानी भएमा त्यसको क्षतिपूर्ति तिर्नुपर्नेछ। यदि कसुर दोहोरिएमा वास्तविक हानिको दुई सय प्रतिशतसम्म क्षतिपूर्ति कसुरदारले बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सिरहामा प्राधिकरणको लहान, मिर्चैया र सदरमुकाम सिरहामा गरी तीनवटा वितरण केन्द्र छन्। जसमध्ये लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका तथा बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका रहेका छन्।



