काठमाडौं– जब आफ्नो पारिवारिक जीवनभन्दा फरक हिसाबले सम्बन्ध कायम गर्ने महत्वकांक्षा जाग्छ अनि त्यसले एउटा कहालीलाग्दो अपराधिक कदम उठ्छ भन्ने उदाहरण पर्याप्त पाइन्छ।

त्यसै मध्यको एउटा डरलाग्दो हत्याकाण्ड सन् २०१७ अर्थात् ८ बर्षअघि घटेको थियो।

यो घटना भारतको राजस्थान राज्यको हो।

राजस्थानको अलवर जिल्लामा सन् २०१७ मा एक महिलाले आफ्ना प्रेमीसँग मिलेर पति, तीन छोराहरू र भतिजाको गला रेटी हत्या गरेकी थिइन्।

घटनाको ६ वर्षपछि अदालतले यस भयावह हत्याकाण्डमा फैसला सुनाएको थियो। अतिरिक्त जिल्ला तथा सत्र न्यायालय–२ ले महिला र उनको प्रेमीलाई जन्मकैदको सजाय सुनाएको थियो। यसअघि उनीहरूविरुद्ध आरोप प्रमाणित भएको थिए। सजायको निर्णय एक दिन पछि सुनाइएको थियो।

आठ वर्षअघि भएको यस घटनाले अलवर मात्र होइन, पूरै राजस्थानलाई हल्लाएको थियो।

महिलाले पति र नाबालक छोराहरूको जुन दर्दनाक तरिकाले हत्या गरिन्, त्यसले सबैलाई स्तब्ध बनायो।

आमाले यसरी आफ्ना सन्तान नै मार्न सक्छिन् भन्ने कुरा सुन्दा जो–कोही अचम्ममा परेका थिए।

यो भयानक कथा अलवरको शिवाजी पार्कमा बस्ने एउटा परिवारको हो। सन् १९९९ मा बनवारीलाल शर्माको विवाह कठूमरको गारु गाउँकी ताइक्वान्दो कोच सन्तोष शर्मा उर्फ सन्ध्यासँग भएको थियो।

बनवारीलाल अलवरस्थित एउटा कारखानामा अपरेटरको रूपमा काम गर्थे। परिवारको आर्थिक अवस्था खासै राम्रो थिएन।

विवाहपछि उनीहरूका तीन बच्चा भए। सन्ध्या सुरुबाटै विलासी जीवन बिताउन चाहन्थिन्, तर पैसाको अभावले उनको चाहना पूरा हुन सकेको थिएन। त्यसपछि उनले ताइक्वान्दो प्रशिक्षण दिन थालिन्।

सन् २०१४ देखि सन्ध्या बालबालिकालाई ताइक्वान्दो सिकाउन थालिन्। यही क्रममा उनी प्रतियोगितामा सहभागी हुन सहरबाहिर जान्थिन्।

एउटा प्रतियोगिताको क्रममा उदयपुर पुगेकी सन्ध्याको हनुमान जाट (ज्याक)सँग भेट भयो। हनुमान सन्ध्याभन्दा १० वर्ष कान्छो थियो र बिहे गरेको थिएन। भेटपछिका दिनमा उनीहरूबीच नजिकको सम्बन्ध बढ्दै गयो।

अढाई वर्षसम्म उनीहरूको अफेयर चलेको थियो। यसबीच सन्ध्या कहिलेकाहीँ प्रतियोगिताको बहानामा सहरबाहिर पनि हनुमानसँग जान्थिन्।

सो क्रममा उनीहरूबीच कयन पटक अनैतिक सम्बन्ध कायम रहेको विवरण पनि सतहमा आएका थिए।

जब सन्ध्याको पति बनवारी र ठूलो छोरा मोहितलाई आमाको सम्बन्धबारे थाहा भयो, उनीहरूले प्रश्न गर्न थाले।

बनवारीले सन्ध्याको घर–बाहिरको हिँडडुलमा रोकथाम गर्न थाले। मोहितले समेत आमासँग सवाल गर्ने गथ्र्यो। सन्ध्या यसबाट असन्तुष्ट थिइन्।

यसपछि उनले प्रेमी हनुमानलाई सबै कुरा सुनाइन्। दुवैलाई लाग्यो कि अब भेटघाट सजिलो छैन। त्यसैले दुबै तनावमा पर्न थाले।

सन्ध्यालाई पति बनवारी मन पर्दैनथ्यो। मोहितले पनि धेरै नियन्त्रण गर्न थालेपछि उनी रिसाउँथिन्। त्यसैले सन् २०१६ मै सन्ध्या र हनुमानले बनवारी र मोहितको हत्या गर्ने योजना बनाउन थाले।

हनुमानका साथी दीपक र कपिल पनि योजनामा सहभागी भए।

प्रहरीले शंका नगरोस् भनेर हनुमानले नक्कली सिमकार्डहरू खरिद गरे। हत्याको दुई महिना अगाडि, सन् २०१७ को अगस्टमा उनले एक फर्जी सिम सन्ध्यालाई दिए।

त्यसपछि ३० सेप्टेम्बरमा उनले जनावर काट्ने चक्कु अनलाइन अर्डर गरे र अर्को चक्कु बजारबाट पनि किने।

२ अक्टोबर २०१७ को रात हत्या गर्ने योजना बनाइयो। त्यस दिन सन्ध्याले रायता (दहीको तरकारी) मा सुताउने औषधि मिसाएर सबैलाई खुवाइन्।

राति करिब १ बजे हनुमान, दीपक र कपिल सन्ध्याको घर आए।

सन्ध्याले ढोका खोलेर भित्र ल्याइन्। तलको कोठामा बनवारी (४५), मोहित (१७), हैप्पी (१५), अज्जु (१२) र भतिजा निक्की (१०) सुतेका थिए।

हनुमानले पहिले बनवारीको गला रेटे र उसका साथीहरूले शरीरमा धारिलो हतियारले प्रहार गरे। त्यसपछि मोहितलाई मारियो। सन्ध्या सीढीबाट उभिएर हेर्दै थिइन्।

उनको भनाइ अनुसार उनले पति र मोहितलाई मात्र मार्न चाहेको थिइन्, तर हनुमानले सबैलाई नै मारिदियो। पाँचै जनाको घटनास्थलमै मृत्यु भयो।

हत्या पछि तीनै जना भागे तर सन्ध्या घरमै लासहरूको छेउमा बसिरहेकी थिइन्। उनले करिब ६ घण्टा शवहरूसँगै रात बिताइन्।

बिहान ६ बजे उनले कराउँदै हत्याको आरोप ससुराली पक्षमाथि लगाइन्।

तर जब प्रहरीले अनुसन्धान थाल्योे, हनुमान, दीपक र कपिलसम्म पुग्यो। सुरुमा सन्ध्याले यस विषयमा मुख खोल्न चाहिनन्। हनुमानले सबै स्वीकारेपछि उनी फसिन्। अन्ततः सन्ध्या पनि पक्राउ परिन्।

६ वर्ष लामो अदालती सुनुवाइपछि पीडित परिवारलाई न्याय मिल्यो। अदालतले सन्ध्या र उनका प्रेमीलाई जन्मकैदको सजाय सुनाएको थियो।

यो घटना भारतीय समाजमा मात्र होइन, नेपाली समाजमा पनि हुने खालका परिवारमा तेस्रो मानिसको प्रवेशले निम्त्याएको क्रुर हत्या प्रकरण थियो।

(भारतीय मिडिया र इन्टरनेटमा उपलब्ध सामग्रीको सहयोगमा तयार पारिएको रिपोर्ट। सम्पादक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय