शुभ नारायण कामती
सिरहा । सिरहाका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसि) तालिम सुरु गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–३, को रमेश महतो स्मृति माध्यमिक विद्यालय र श्री जनता नमूना प्राविधिक धार माध्यमिक विद्यालय सोनवर्षा नवराजपुर गाउँपालिका–४ मा विद्यार्थीहरुका लागि एनसिसि तालिम सुरु गरेको हो ।
शुक्रबार देखी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि सिनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री नन्द बक्स गण चोहर्वाका प्रमुख सेनानी समिर श्रेष्ठले जानकारी दिएकाछन् ।
“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रा गरी ३०/३० जम्मा ६० जना विद्यार्थीहरुलाई छनोट गरिएको छ” उनले भने “राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।”
यसका साथै सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ । एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ ।
उहाँका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।




