????? (??????? ???????)?? ????????? ??????? ?????? ?????? ???? ????? ?????? ?????? ????? ???????? ??????? ??? ????????????? ???????? ????? ‘???????’ ? ??????? ????????? ???? / ????

काठमाडौं । यतिखेर नेकपा माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तन निम्ति चलेको अन्तरसंघर्षले उत्कर्ष खोज्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि खुला विरोध हुँदैछ । माओवादी उपमहासचिव जनार्दन शर्मालाई आफ्नै बोलीमा आत्मालोचना गर्न माग उठेसँगै पक्ष/विपक्षमा खुलेरै धारणा सार्वजनिक भइरहेका छन् ।

पार्टी नेतृत्वविरुद्धका सार्वजनिक अभिव्यक्तिले नकारात्मक प्रभाव परेको तर्क प्रस्तुत गर्दै शर्माविरुद्ध आत्माआलोचनाको माग उठेको हो ।  अध्यक्ष दाहालले पार्टी फुट्दैछ भन्ने प्रचार गरी भ्रमित पारेको आरोप शर्मामाथि लगाएका छन् ।

शर्माले आत्मालोचना गर्नुपर्ने अडानमा दाहाल कायमै छन् । तर, शर्मा आफू मात्र दोषी नभएको हुँदा आत्मालोचना नगर्ने अडान लिएका छन् । उता शर्माले अध्यक्ष दाहालकै कारण पार्टी संकट अवस्था सिर्जना भएको जिकिर गरेपछि विवाद बढेको छ ।

उनले राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, संगठनात्मक प्रणालीमा संकट आएको उल्लेख गरी यिनको समाधान पार्टीको विशेष महाधिवेशनबाट मात्र समाधान हुन सक्ने दलिल पेश गर्दैछन् ।
उनले त त्यस निम्ति विशेष महाधिवेशनको मागसमेत राखेका छन् ।

केही दिनअघिको पार्टी स्थायी कमिटी बैठकमा नेतृत्व परिवर्तनका विषयमा ठूलै बहस भएको थियो ।  शर्माले त स्थायी कमिटी बैठकको माइन्युटमा सही समेत गरेका छैनन् । पदाधिकारीहरूको मंगलबार बस्ने बैठकमा गएका बेला ‘माइन्युट’मा सही गर्ने तयारी भएको उनका निकट स्रोतले बताए ।

उनी निकट स्रोतले भन्यो, “यो धेरै अघिदेखिकै मुद्दा हो, अध्यक्षले छलफल गर्ने भन्नुभएको विषयमा वास्ता नगरेपछि शर्माले स्थायी कमिटी बैठकमा उठान गर्नुभएको हो । अब दाहाल र शर्माबीच बाहिर आएजस्तो समस्या छैन ।”
तर, माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा शर्माले आत्मालोचना नगरेको हुँदा कडा चेतावनी दिने निर्णय पार्टीले गरेको जानकारी दिए ।  उनले बाह्रखरीसँग भने, ‘‘पार्टीको गतिविधि र नेतृत्वको विषयमा शर्माले आइन्दा कुनै पनि विरोधाभास विषय उठान नगर्ने समझदारी भएको छ ।’’

उनले भने, “पार्टीको नीति, नेतृत्व मान्नेगरी अध्यक्ष प्रचण्डसँग शर्माले सहमति गरेका छन् । पार्टी नेतृत्व परिवर्तन हुने सम्भावना छैन ।”

उपमहासचिव शर्माको विद्रोह

स्थायी समितिको बैठकले प्रदेशको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै झन्डै एक वर्षदेखि सुरु भएको उपमहासचिव शर्माको विद्रोह सतहमा आएको हो । प्रदेशका इन्चार्जहरू परिवर्तन गर्ने पार्टी बैठकको निर्णयमा उनले लिखित रूपमै असन्तुष्टि जनाएका थिए ।

हाल उनले पार्टी नेतृत्वप्रतिको असन्तोष प्रष्ट देखाएपछि विवाद चुलिएको  हो । उनले पार्टीभित्र नीति निर्माण, पद बाँडफाँड वा नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवाज उठाएको उनी निकट नेताहरु बताउँछन् ।

माओवादीभित्रको अन्तरसंघर्ष सतहमा 

माओवादीभित्रको अन्तरसंघर्ष र सतहमा देखिएका वैचारिक द्वन्द्वले पनि पार्टीमा समस्या देखिँदै आएको छ । पार्टीभित्रका विवाद अझै पनि राम्रोसँग बाहिर आउन नसकेको पार्टीकै नेताहरूले बताउने गरेका छन् ।

झन्डै ३ वर्षअघि पनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समूह आक्रामक रूपमै प्रस्तुत भएको थियो ।

अध्यक्ष प्रचण्डकै भूमिकालाई लिएर श्रेष्ठ समूहले प्रश्न उठाएका थिए ।  त्यसबखत पार्टी विभाजनकै मनस्थितिमा पुगेका श्रेष्ठ पक्ष स्थानीय तहको चुनाव मुखैमा आएपछि नरम बनेका थिए । श्रेष्ठसँग २०५३ सालदेखिको सम्बन्ध बेवास्ता गर्दै ‘प्रचण्ड’ले पार्टी छोड भनेपछि उनले चित्त समेत दुखाएका थिए ।

क्रान्तिकरण नै किन ? 

माओवादीको पछिल्ला बैठकहरूमा धेरैजसो नेताले पार्टी कमजोर बनेको भनी चिन्ता व्यक्त गर्ने गरेका छन् ।  माओवादी केन्द्रका सचिव राम कार्कीले पनि बाह्रखरीसँगको कुराकानीमा पार्टी कमजोर भएको बताए ।

उनले भने, “मैले सैद्धान्तिक कुरा गरेको हो, हरेक चिजको जीवन हुन्छ, मान्छेको पनि कैयौं सेल मर्ने र जीवन्त हुने गरेका छन् । काँचुली फेरेझँै पार्टी नेतृत्व पनि परिवर्तन हुनुपर्ने आवाज उठेका छन् । अधिकांश नेता कार्यकर्ताले पार्र्टीभित्रै क्रान्तिकरण गर्नुपर्ने बताएका छन् ।”

उनले थपे, “नेतृत्वमै क्रान्तिकरण आवश्यक छ, हालको अवस्थामा पार्टीको आदत, शैली, संस्कार र भूमिकालगायत धेरै विषयवस्तु फेरिनुपर्ने देखिएको छ । जनताले चेतावनी दिन थालिसकेका छन्, समर्थन घट्न थालिसकेको छ । त्यसकारण पनि पार्टीले कडा नीति अबलम्वन गर्नुपर्छ ।”

गत साउन १६ गते सुरु भएको माओवादी स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माको समर्थनमा चारजना नेताहरू छलफलमा मुखर भएर उठेका थिए ।

सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राईले शर्माको पक्षमा खुलेरै धारणा राखेका थिए । उनीहरूले अध्यक्ष दाहालको कार्यशैलीमा प्रश्न उठाउनुका साथै नेतृत्व हस्तान्तरणको माग समेत गरेका थिए ।

माओवादी केन्द्र एकतामा उद्यत 

प्रमुख प्रतिपक्षी माओवादी कमजोर हुँदै गएको महसुस गरी एकता गर्दै फेरि दर्बिलो शक्तिको रूपमा उदाउने योजनामा छ ।  विचार, नीति, प्राविधिक कार्यदिशा मिल्ने पार्टीहरूसँग एकता गरेरै जाने माओवादी केन्द्रको ध्याउन्न छ ।

समाजवादी मोर्चालाई पार्टीका रूपमा विस्तार गर्ने हिसाबले माओवादी अघि बढेको देखिन्छ । उसको ध्याउन्न ०८४ को चुनावमा बलियो दलका रूपमा उदाउनु हो ।

तर, एमालेसँग माओवादी केन्द्रले एकता गर्ने सोच नबनाएको र नीति पनि नमिल्ने जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता सापकोटा भन्छन्, “तत्काललाई एमालेसँग एकता गर्ने सोच छैन, नीति पनि मिल्दैन । ऊसँग गठबन्धन गरिरहँदा हाम्रो पहिचान हरायो ।”

उनले थपे, “पार्टीको नीति तथा कार्यक्रमसँग मेल खानेसँग एकताबद्ध हुँदै जाने माओवादी केन्द्रको सोच छ ।’’

०८४ को चुनावमा माओवादी केन्द्र बलियो बनेर स्वतन्त्र रूपमा एक्लै लड्ने पनि उनले बताए ।

दलहरूबीच एकता कति सम्भव ? 

समाजवादी मोर्चामा रहेका दलहरूलाई जनताले दिएको समर्थन हेर्ने हो भने कमजोर बन्दै गएको छ ।  मोर्चाभित्रका दलका नेताहरूले जनताले एकता चाहेको भनी अनौपचारिक संवाद पनि गरिरहेका छन् । जनसमर्थन निरन्तर कमजोर हुँदै गए मोर्चा भित्रैका दलमा एकताका लागि दबाब पनि बढ्ने देखिन्छ ।

कतिपय राजनीतिक दल टुक्रिदै नयाँ दलका रूपमा दर्ता हुँदा पनि जनसमर्थन कमजोर बन्दै गएको छ । यसका लागि एकता बलियो र दीर्घकालीन बनाउन नेतृत्वको त्याग, साझा उद्देश्य र स्पष्ट कार्यक्रम आवश्यक पर्छ ।

माओवादीको स्थान कहाँ

पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी माओवादी तेस्रो र त्यसमा पनि कमजोर दल बनेको छ । तर माओवादी अध्यक्ष दाहाल प्रचण्ड २०८४ को निर्वाचनमा पार्टी एक नम्बरको बन्ने दाबी गर्दैछन् ।  उनका पछिल्ला भाषणहरूमा माओवादी एक नम्बर पार्टी बन्ने विषय कतै छुटदैन । तर, पार्टीभित्रै आन्तरिक द्वन्द्व र उपमहासचिव शर्माको पछिल्लो क्रियाकलापले दललाई विवादकै उत्कर्षतिर पुर्‍याउँदै छ ।

पदाधिकारी बैठक आज 

आन्तरिक विद्रोहको चपेटामा परेको माओवादीको पदाधिकारी बैठक भदौ ३ गते मंगलबार बस्दैछ ।  बिहान साढे ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यही भदौ १५ गतेदेखि सञ्चालन हुने मध्यपहाडी लोकमार्ग अभियानबारेमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।उनले भने, “अभियानको विस्तृत तालिकाका विषयमा छलफल हुनुका साथै जानकारी गराइनेछ र अभियानका लागि कार्यविभाजनबारे छलफल हुनेछ ।’’

यस्तै आन्तरिक संगठनात्मकलगायत विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।  मध्य–पहाडी लोकमार्ग अभियान यही भदौ १५ गते लमजुङबाट सुरु गर्ने माओवादीको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय