सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएको हो।
प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिहरुको पहिचान खुल्न बाँकी छ। घाइतेहरूलाई इनरुवा, विराटनगरस्थित न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।प्रहरीले बस चालक झापा, अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





