एजेन्सी : उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार बादल फाट्दा भारतीय सेनाका नौ जना जवान बेपत्ता भएका छन्। सेनाको शिविरमा बाढी पसेपछि उनीहरू बेपत्ता भएको जानकारी भारतीय सेनाले दिएको छ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसीसँग कुरा गर्दै भने, ‘धरालीको खीर गङ्गामा आएको विनाशकारी भेल र लेदोले मच्चाएको तबाहीपछि भारतीय सेना राहत एवं उद्धार कार्यमा खटिएको छ।’उनका अनुसार, १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्णेल हर्षवर्धन १५० जवानको टोलीसहित राहत तथा उद्धार कार्यको नेतृत्व गरिरहेका छन्।

‘भारतीय सेनाको यो टोली नागरिकहरूलाई बचाउनका लागि सक्रिय रूपमा अपरेसनमा जुटेको छ,’ उनले भने, “यस टोलीले अहिलेसम्म २० जनालाई सकुशल उद्धार पनि गरिसकेको छ। राहत कार्यलाई तीव्रता दिन थप सैन्य टोलीहरू पनि पठाइँदै छ।’




