गोरखा । गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।
जुठे हराएको ३३ वर्ष पुग्यो । यत्तिका समय अत्तोपत्तो नभएपछि घरमा व्यावहारिक, कानुनी गाँठोहरू फुकाउने प्रक्रिया सुरु भयो । अंशबन्डाको दाबी गर्न पनि कानुनी बाटो खुलाउनु पर्ने अवस्था आयो । त्यसैले उजेलीले २०७९ साल कात्तिक २१ गते गोरखा जिल्ला अदालतमा आएर पतिको मृत्युको न्यायिक घोषणा गर्न निवेदन दिइन् । अदालते जाँचबुझ, खोजतलासको प्रक्रिया पूरा गरेपछि पुसको २६ गते जुठेको मृत्यु भएको न्यायिक घोषणा गर्यो । त्यसकै आधारमा वडा कार्यालयले पुसको २८ गते मृत्यु दर्ताको प्रमाणपत्र बनाइदियो ।

कामको सिलसिलामा उनीसँग आँबुखैरेनीका एक जनासँग चिनजान भयो । आफ्नो सबै कथा कहानी सुनाएपछि उनले घर फर्कन आफूले मद्दत गर्ने बचन दिए । उनकै सहयोगमा अहिले उनी फर्केका हुन् । आगमनपछि उनलाई कानुनी रूपमा पनि जियाउने काम भएको अदालतले जनाएको छ । ‘उहाँको आगमन भएपछि फेरि उजेली बिकले आफ्नो पतिको मृत्युको न्यायिक घोषणा बदर गरिपाउँ भनेर निवेदन दिइन् । व्यक्ति स्वयं उपस्थित भएपछि हामीले हालसालै बदर घोषणा गरेका छौं’, गोरखा जिल्ला अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले भने ।
अहिले जुठेको दम्पती राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् ।




