दोहा, कतार । वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिरहाका पत्रकार रामएकवाल राम उत्कृष्ट पत्रकार पुरस्करबाट सम्मानित भएका छन।
शुक्रबार सम्पन्न गैर अवासिय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको ११औ राष्ट्रिय एकता महाधिवेशनको अवसरमा रामलाई सम्मान प्रदान गरिएको हो।

संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सप्पन्न महाधिवेशनमा प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सुचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्त रूपमा प्रवाह गरेको उल्लेख गर्दै नगद रु. १५००१ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।
सम्मान ग्रहणपछि रामले संस्थाका सम्पूर्ण पदाधिकारी र आयोजक प्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई पत्रकारितामा अझ दृढ भएर अगाडि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताए।
सिरहाको लहानबाट प्रसारण भईरहेको सामुदायिक रेडियो समाद एफएमबाट पत्रकारिता सुरू गरेका राम हाल बालासुन्दरी खबर राष्ट्रिय दैनिकका सम्पादक रहेका छन्। उनी कतारमा सामुदायिक पत्रकारिता तथा प्रवासी मजदुरका समस्या उठाउने अग्रपङ्क्तिका पत्रकारका रूपमा चिनिन्छन।




