काठमाडौं । आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् ।
गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गरेकी छिन् ।पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्नेदेखि ४५ वर्षयता पार्टीमा आफ्नो सक्रियतासम्मको विषयलाई भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् ।

यसैबीच उनले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राखेकी छिन् ।पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।२ पृष्ठ लामो आफ्नो वक्तव्यमा उनले भनेकी छिन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’





