सिरहा नगरपालिकामा नगरस्तरीय बाल सञ्जालको औपचारिक गठन सम्पन्न भएको छ। ‘लाईफ नेपालकाे आयाेजना र सिरहा नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा सम्पन्न कार्यक्रम मार्फत नगरका २२ वटै वडाबाट प्रतिनिधित्व हुने गरी समावेशी बाल सञ्जाल निर्माण गरिएको हो।

कार्यक्रमको अध्यक्षता बाल कल्याण अधिकारी श्री जीवन थापा मगरले गर्नुभएको थियो भने, प्रमुख अतिथि सिरहा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मो. इदरिश राईन रहनुभएको थियो। विषेश अतिथि प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईन रहनुभएको थियो।

कार्यक्रममा लाईफ नेपालकी प्रदेश कार्यक्रम संयोजक लक्ष्मी कुमारी साह, प्रशिक्षक बर्दान श्रेष्ठ थियाे।
प्रमुख अतिथि मो. इदरिश राईनले बालबालिकाको सशक्तिकरणमा नगरपालिकाले प्रतिबद्धता जनाउँदै भन्नुभयो:

“सिरहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नगर बाल सञ्जालका गतिविधिका लागि विशेष बजेट विनियोजन गरिनेछ।”
उक्त गठन कार्यक्रममा नगरका विभिन्न बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा बाल सञ्जालका संरचनागत ढाँचा, दायित्व र अधिकारसम्बन्धी छलफल गर्दै सर्वसम्मत रूपमा नयाँ नगर स्तरीय नेतृत्व चयन गरिएको हो।
सञ्जाल गठनमा अगुवाइ गर्दै आएका स्थानीय युवा सामाजिक अभियन्ता तथा सिरहा नगरपालिका निवासी माे• नइम राईन यस घटनालाई आफ्नो व्यक्तिगत संकल्पको सफलतासँग जोडेर स्मरण गर्छन्।

“मैले केही महिना अगाडि प्रतिबद्धता गरेको थिएँ — सिरहाका २२ वटै वडामा वडा स्तरीय बाल सञ्जाल गठन गर्ने र त्यसपछि नगर स्तरीय बाल सञ्जाल निर्माण गर्ने। आज त्यो सपना पुरा भएको छ,” राईनले भावुक हुँदै भने।
राईन आफैँ यही नगरपालिकाबाट बाल क्लब सदस्यको रुपमा सामाजिक नेतृत्वको यात्रा थालेका थिए। उनले बाल अधिकार, सहभागिता र नेतृत्वका सवालमा लामो समयदेखि काम गर्दै आएका छन्।

“म यस नगरको बाल क्लबबाट हुर्किएको हुँ, आज त्यसै नगरको सम्पूर्ण बालबालिकालाई समेट्ने सञ्जाल निर्माण गर्न पाउनु गर्वको कुरा हो,” उनले थपे।
गठन प्रक्रियामा विभिन्न चुनौतीहरू भए तापनि निरन्तर संवाद, सहयोग र समर्पणका साथ यो सम्भव भएको रायन बताउँछन्।
गठित नगर बाल सञ्जालको प्रमुख पदाधिकारीहरू यसप्रकार छन्:
🔹 अध्यक्ष: दीपिका महरा
🔹 उपाध्यक्ष: निशा कुमारी पासवान
🔹 सचिव: अजय महतो
🔹 सह-सचिव: अञ्जली कुमारी यादव
🔹 कोषाध्यक्ष: करिमा कुमारी साह
त्यसका अतिरिक्त, वडा नं. १ देखि २२ सम्मका प्रतिनिधिहरू समेत सञ्जालमा सदस्यका रूपमा समावेश गरिएका छन्।
बाल सञ्जालले आगामी दिनमा बाल अधिकारको प्रवर्द्धन, बाल सहभागिता, बालमैत्री नीति निर्माणमा पैरवी तथा बाल संरक्षण सम्बन्धी चेतनामूलक अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।
सञ्जालमा प्रतिनिधित्व समावेशी बनाउन प्रत्येक वडाबाट बालबालिका छनौट गरिएका छन्, जसले भविष्यमा नेतृत्व क्षमता विकासका साथै समुदायस्तरमा बालमैत्री परिवर्तन ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय