२०७९ मा स्थानीय तहको निर्वाचन देशभर दोस्रो पटक सम्पन्न भएको थियो । सिरहाका १७ वटै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए । मिर्चैया नगरपालिकामा मेयर उपमेयर, सुखीपुर नगरपालिका मेयर–उपमेयर, बरियारपट्टी गाउँपालिकामा अध्यक्ष, सखुवानन्कारकट्टीमा अध्यक्ष गरी ६ जना प्रमुख–उपप्रमुख र केही स्थानीय तहमा वडाअध्यक्षहरु दोहोरिए । जिल्लाका १७ स्थानीय तहको मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष ३४ जनामध्ये २८ जना दोहोरिन पाएनन् । कतिपयले टिकट नपाएर चुनाव लड्न पाएन भने कतिपयले चुनाव लडेपनि दोहोरिने मौका पाएनन् । १६४ वडा अध्यक्षमध्ये निर्वाचनमा उम्मेदवार बनेका अधिकांस वडाअध्यक्षहरु पराजित भए । यसको स्पष्ट सन्देश भनेको नागरिकको अपेक्षा र हितमा काम गर्न असफल भएको भन्ने हो । त्यही भएर दोहोरिने मौका पाएनन् ।
सिरहा नगरपालिकाको २०७४ को स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदरवा बनेका डा नविन कुमार यादव झिनो मतान्तरले पराजित भएका थिए । २०७९ को स्थानीय चुनावमा डा यादव मेयरमा निर्वाचित भए । नागरिकले अपेक्षा सहित मेयरमा पठाएका थिए । त्यही भएर उनलाई सिरहा नगरपालिकाको नेतृत्वमा गर्न पठाए । २०७९ मा सिरहा नगरपालिकाको मेयरमा निर्वाचित भएपनि कार्यपालिकाको बैठक समयमै राख्न सकस भयो । जसका कारणले बजेट विनियोजन गर्ने र पारित गर्ने काममा ढिलाई भयो । यो क्रममा वडाअध्यक्ष र मेयरवीच टकराव चल्यो र लामो समयपश्चात नीति तथा कार्यक्रम र बजेट पारित भयो । असार १० मा प्रस्तुत गरी पारित गर्नुपर्ने बजेट भदौंमा मात्र पारित गर्न सफलता मिल्यो । यसबाट स्पष्ट सन्देश के थियो भने नागरिकमैत्री र जवाफदेही बनेर नगरपालिका अघि वढ्नुपर्छ ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । चौथों वर्षको निम्ति अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा गर्नुपर्ने दायित्वमा सिरहा नगरपालिकाले चुकेको छ । कानूनले र्निदिष्ट गरे अनुसार असार १० भित्र नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने असार महिनाभित्र पारित गर्नुपर्ने हुन्छ । यस पटक सिरहा नगरपालिका कानूनले तोकिएको समयभित्र अर्थात असार १० भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन असफल भएको छ । सिरहा नगरपालिका बाहेक सिरहा जिल्लाका १६ वटा स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । यसले सिरहा नगरपालिकाको काम गराई शैलीमाथि प्रश्न उठेको छ । नागरिकले गरेको अपेक्षामा सिरहा नगरपालिकाले कुठाराघात गरेको छ । समयमै बजेट ल्याउन नसक्दा यसको असर केन्द्र र प्रदेशले दिने विभिन्न अनुदानमा पर्छ । अनुदान रकम कम प्राप्त भएपछि विकास निर्माणको कामलाई गति दिन सकिदैन् । विगतमा पनि समयमै नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न नसक्ने, बजेट खर्च गर्न नसक्ने भएरपनि अगामी आर्थिक वर्ष संघ र प्रदेशले दिने विभिन्न अनुदान र बजेट घटाई सकेको छ । जसको असर पूर्वाधार विकासमा पर्ने निश्चित छ । यो कुरालाई गम्भीर रुपमा बुझेर सिरहा नगरपालिकाले अगामी आर्थिक वर्षको बजेट ल्याउन तदारुकता देखाउनु जरुरी छ । पालिकालाई दिईने बजेट कटौतीको प्रति गम्भीर बन्दै असारभित्रै बजेट ल्याएर पास गर्नुपर्ने नितान्त जरुरी छ । अनि मात्र नगरपालिकाको नेतृत्व गरेको मेयर र निर्वाचित जनप्रतिनिको भूमिकालाई सहि मान्न सकिन्छ ।



