सिरहा । सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान करिब ३ः२२ बजे नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर BR32AM 3057 को सेतो रङको १६० सीसीको अपाचे मोटरसाइकललाई नियन्त्रणमा लिन खोज्दा मोटरसाइकलमा सवार व्यक्ति मोटरसाइकल र गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
गस्ती टोलीले मोटरसाइकलमा राखिएको दुई बोराबाट नापतौल गर्दा ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको हो।
बरामद मोटरसाइकल र गाँजा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार व्यक्तिको पहिचान तथा खोजी कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।




