सिरहा नगरपालिका–९ मा एउटा योजनाको विषयमा क्षेत्राधिकारको विषयमा विवाद सृजना भएको छ ।
मधेश प्रदेशको सामाजिक विकास ईकाइको २५ लाख लागतमा फुटबल स्टेडियमको उत्तरपट्टी स्टेप्स र ट्रष्ट बनाउने योजना अहिले विवादमा परेको छ । सो योजना सञ्चाल गर्न ईकाइले सिरहा नगरपालिका वडा नम्बर ९ लाई चैत १५ मा पत्राचार गरेको थियो । कार्यालयको पत्राचारको आधारमा वडा नम्बर ९ का वडाअध्यक्ष राम दयाल यादवले सतिश यादवको नेतृत्वमा ७ सदस्यीय उपभोक्ता समिति गठन गर्न सम्पूर्ण प्रकृया पूरा गरी चैत २६ मा कार्यालयलाई पठाएको थियो ।

ईकाइ कार्यालयलाई वडा कार्यालयले पठाएको समितिलाई वेवास्ता गर्दै सिरहा नगरपालिकालाई अर्को पत्र पठाएको थियो । जेठ १८ मा नगरकार्यपालिकालाई सम्बोधन गर्दै ईकाइ प्रमुख बच्चेलाल साहको हस्ताक्षर गरिएको पत्र पठाएको थियो । जसले विवाद सृजना गरेको वडा अध्यक्ष रामदयाल यादवले बताए । आफूले पहिले नै उपभोक्ता समिति विधिवत गठन गरी सवैतिर पत्राचार गरेको भन्दै वडा अध्यक्ष यादवले त्यसका विपरीत कार्यालय प्रमुखले मिलोमतोमा नयाँ उपभोक्ता समिति गठन गर्न पत्राचार गरेको बताए । पुनः उपभोक्ता समिति गठनको पत्राचार भएपछि सिरहा नगरपालिकाका मेयर डा नविन कुमारयादवको उपस्थितीमा गत जेठ २५ मा ललन कुमार यादवको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
कानूनसम्मत आफूले उपभोक्ता समिति गठन गरेको दावी गर्दै वडा अध्यक्ष रामदयालले मेयरले आफ्नो उपस्थितीमा गठन गराएको अर्को समिति अवैध भएको बताएका छन् । ‘यो गैरकानूनी र अपारदर्षितालाई मलजल गर्ने काम मेयरले गरेको छ,’ वडा अध्यक्ष यादवले भने, ‘विधिवत र प्रकृयागत रुपमा चयन भएको उपभोक्ता समितिलाई बाईपास गर्नु गम्भीर विषय हो । यसको छानबिन सरोकारवाला निकायले गर्नुपर्छ ।’



