लहान । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ हरिहरपुरमा हरवा चरवा तथा दलित बालबालिकाका लागि बालअधिकार सम्बन्धी तीन दिवसीय तालिम संचालन गरिएको छ ।
स्थानीय स्तरमा बालबालिकाहरुलाई संगठित गरी बालअधिकार सम्बन्धी विभिन्न गतिविधिहरुमा सरिक गराउन सघाउने, बालअधिकारको जानकारी र क्षमता विकास, बालबालिका र बालअधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरुको विषयमा जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको हो । अग्निसाइर कृष्णासवरण गाउँपालिकाको ३ नं. वडाको मटिगढीस्थित जनता मा.वि.मा १४ देखि १६ जेठसम्म वडा कार्यालय र जनचेतना दलित संगम मधुपट्टि (सुरुङ्गा न.पा. ४) सप्तरीको सहकार्यमा आयोजित तालिममा बालअधिकार सम्बन्धी चार स्तम्भ .(बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार) को विषयमा उदाहरणसहित छलफल गरी बालबालिकालाई सामूहिक अभ्यास गराइएको थियो ।

छलफलको क्रममा नेपालको संविधान २०७२ को धारा ३९ मा गरिएका बालबालिका र बालअधिकार सम्बन्धी व्यवस्था, बालअधिकार सम्बन्धी महासन्धि १९८९ मा गरिएको व्यवस्था, बाल श्रम शोषण, बाल यौन दुव्र्यवहार, लागूऔषध दुव्र्यसन, स्थानीय स्तरमा बालबालिकालाई गरिने व्यवहार, बालअधिकारका लागि बालबालिकाहरुले बाल क्लवमार्फत् गर्न सक्ने गतिविधिहरुको बारेमा छलफल गरिएको थियो । त्यसक्रममा बालबालिकाहरुलाई स्थानीय स्तरमा गर्ने व्यवहार कस्ता कस्ता हुन्छन्, त्यसलाई रोक्न बाल क्लवले के के गर्न सक्छन्, बाल क्लव गठन, त्यसको आवश्यकता र प्रकृया, महत्वको विषयमा सहभागितामूलक छलफलपछि एक जना पछि थप्ने र बाल क्लवको नामाकरण गर्नेगरी १५ सदस्यीय बाल क्लव गठन गरिएको छ ।

प्रितिका कुमारी सदा अध्यक्ष रहेको बाल क्वलमा उपाध्यक्ष सुुवेक कुमार सदा, सचिव रंजताकुमारी सदा, सहसचिव मनिषा कुमारी सदा, कोषाध्यक्ष लक्ष्मिनिया कुमारी सदा र सदस्यहरु राजकुमार सदा, क्षितिज कुमार सदा, रामकृष्ण सदा, आकृति सदा, चन्दा कुमारी सदा, विनमकुमार सदा, करण कुमार सदा, अनिल कुमार सदा तथा चन्द्रिका कुमारी सदा रहेका छन् । जनचेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्रप्रसाद राम र पत्रकार मणिलाल विश्वकर्माको सहजीकरण रहेको तालिमको समापन समारोहमा विशेषगरी मुसहर बालबालिकाको शिक्षाका लागि स्थानीय सरकार र सरोकारवालाहरुले मिलेर काम गर्नुका साथै अभिभावकहरुले पनि आफ्ना छोराछोरी के गर्दैछन्, नियमित विद्यालय गए नगएको जस्ता विषयमा निगरानी गर्नु पर्नेमा जोड दिइएको थियो ।

 

समापन समारोहमा ३ नं. का वडाध्यक्ष गोपालप्रसाद चौधरीले अधिकारका लागि स्वस्थ्य रहनु पर्ने, कसरी स्वस्थ्य रहने भन्ने बुझ्न पढ्नु पर्ने र कुलतबाट जोगिनु पर्नेमा जोड दिए । दलित समुदायमा पनि मुसहर बालबालिकाको शिक्षाका लागि केही गर्नैपर्छ भन्ने महसूस भएपछि तीन दिनको तालिमका लागि कार्यक्रम र बजेट छुट्याएको जानकारी दिंदै उनले भने ‘विद्यालय नियमित जानु पर्छ, पढेपछि ज्ञान बढ्छ र त्यसले भविष्य राम्रो बनाउँछ ।’
शिक्षा र चेतनाले बालबालिकालाई गलत काम गर्नबाट रोक्ने उल्लेख गर्दै उनले पढ्ने उमेरका छोराछोरीलाई कमाउन पठाउने बाबु आमालाई पनि कारबाही गरिने बताए । ‘गाउँमै मा.वि. तहसम्मको विद्यालय छ, कम्तिमा आफ्ना छोराछोरीको नाम दर्ता गरी विद्यालय पठाऔं, त्यसमा वडा कार्यालयले गर्नुपर्ने आवश्यक सहयोग गर्नेछ ।’

कार्यक्रममा पूर्व विधायक तथा दलित अगुवा असर्फी सदाले शिक्षाले जीवन कसरी बाँच्ने भन्ने ज्ञान दिने भएकाले विभिन्न कारणले विद्यालय जान छोडेका विद्यार्थीहरुले पुनः नाम दर्ता गरी विद्यालय जान आग्रह गरे । ‘त्यसमा कुने समस्या छ भने वडा कार्यालय, सामाजिक संघ संस्थासँग समन्वय गरी आवश्यक सहयोग जुटाउन पहल गर्छौं’ उनले भने ‘नपढेका व्यक्ति जहाँ गए पनि ठगिने भएकाले पढ्न जरुरी छ ।’

जनता मा.वि. मटिगढी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार चौधरीले बालअधिकार सम्बन्धी तालिमले बालबालिकालाई कुलतबाट जोगाउन र आफ्नो अधिकार बारे सचेत बनाएको चर्चा गर्दै नियमित विद्यालय आउने दलित बालबालिकाका लागि विशेष ध्यान दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय