सिरहा । सिरहा नगरपालिका–४ का वडाध्यक्ष मो. शमशाद आलमले सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुल निर्माणको माग गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
वडाध्यक्ष आलमले आइतबार अपन दैनिकसँग कुरा गर्दै पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे । यदि यो मागलाई अबको बजेटमा समावेश नगरेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनशन बस्न बाध्य हुने चेतावनीसमेत उनले दिए ।

“कमला नदीले वर्षेनी यहाँका बासिन्दालाई सास्ती दिँदै आएको छ,” आलमले भने, “यदि प्रदेश सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएन भने म अनशनमा बस्न बाध्य हुनेछु ।”
स्थानीयवासीका अनुसार स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौं नागरिकलाई दैनिक आवागमनमा कठिनाइ हुँदै आएको छ । विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत नै बन्द हुने समस्या छ ।
वडाध्यक्ष आलमले अब आश्वासनको होइन, काम देखाउने बेला आएको बताए । “हामीलाई आश्वासन होइन, ठोस काम चाहिएको हो,” उनले भने ।
उनले संघीय सरकारले कमला पुलको विषयलाई बेवास्ता गरिरहेको आरोपसमेत लगाए । “संघीय सरकारबाट अपेक्षा गर्न सक्ने अवस्था छैन । त्यसैले हामीले अब मधेश प्रदेश सरकारलाई नै बजेट छुट्याएर पुल निर्माण अघि बढाउन माग गरेका हौं,” आलमको भनाइ छ ।



