सिरहा । १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सिरहाको लहानमा सम्पन्न भएको छ ।
१५औं संस्करणको उपाधी समग्रमा लहान नगरपालिकाले उचालेको छ । कबड्डीको महिला र पुरुषमा स्वर्ण, भलिवलको पुरुषमा स्वर्ण, एथलेटिक्समा स्वर्ण ७, करातेमा स्वर्ण ७ लगायत पदक लहान नगरपालिकाबाट सहभागी खेलाडीहरुले जितेपछि लहान नगरपालिका प्रथम भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यस्तै प्रतियोगितामा गोलबजार नगरपालिका दोस्रो, मिर्चैया नगरपालिका तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १७ पालिका मध्ये पाँच पालिकाले मात्र सहभागिता जनाएको थियो । पाँच पालिकाबाट करिब ३ सय खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका निमित्त प्रमुख हुकुमदेव कामतीले बताए । लहानको कर्वड हलमा भएको प्रतियोगितामा कराते, ताईकाण्डो, एथलेटिक्स, भलिवल र कबड्डीको खेल आयोजना भएको थियो ।

साविक विजेता सिरहा नगरपालिका सहभागी भएन
प्रतियोगितामा साविक विजेता सिरहा नगरपालिकाको सहभागी भएन । ‘बजेट’ को कारण देखाउँदै सिरहा नगरपालिकाले बालबालिकालाई प्रतियोगितामा सहभागी गराउन नसकेको हो । सिरहा नगरपालिकाका शाखा अधिकृत बलिराम यादवले बजेटको सुनिश्चितता नहुँदा विद्यार्थी खेलाडी सहभागी गराउन नसएिको स्वीकार गरेका छन् । एक लाख रुपैयाँ मात्र बजेट भएकोले त्यसमा नगरस्तरीय सहभागी गराएर जिल्लास्तरीय गराउनु पर्ने भएकोले सम्भव नभएको अधिकृत बताएका छन् ।

प्रतियोगितामा सिरहा नगरपालिकासँगै बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सुखीपुर नगरपालिका, विष्णुपुर गाउँपालिका, अर्नामा गाउँपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाले सहभागिता जनाएको थिएन् ।

सवै नगरपालिका र गाउँपालिकालाई सहभागिताको निम्ति पटकपटक आग्रह र पत्राचार गरिएपनि सहाभागिता जनाउन नसकेको निमित्त प्रमुख कामतीले बताए । सिरहा नगरपालिका साविक विजेता भएकोले सहभागिता जनाउनु विशेष आग्रह गरिएको भएपनि बजेटको कारण देखाएर सहभागिता नजनाएको निमित्त प्रमुख कामतीले बताए ।

राष्ट्रपति रनिङ प्रतियोगिता विद्यालय स्तरका बालबालिकाको वृद्धि विकासको निम्ति महत्वपूर्ण खेल उत्सव मानिन्छ । साविक विजेता सिरहा नगरपालिकाको सहभागिता नहुँदा नगरक्षेत्रका विद्यार्थीहरु निराश बनेका छन् । आफूहरुले प्रतियोगिताको तयारी गरेपनि सहभागी हुन नपाउँदा दुःख लागेको चन्द्र माध्यमिक विद्यालयका एक विद्यार्थीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय