काठमाडौं । राष्ट्रिय युवा परिषद्‌को आयोजनामा चारदिने नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम (NYCMUN 2025) बुधबारदेखि सुरु भएको छ। राजधानीको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो अभ्यासले नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति, नेतृत्व विकास र समसामयिक विश्व सवालप्रति गहिरो समझदारी दिलाउने विश्वास व्यक्त गरे। उनले युवा उद्यमशीलता प्रवर्द्धन गर्नेगरी सरकार बजेटको तयारीमा रहेको जानकारी पनि दिए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नमुना अभ्यास युवाको बहुआयामिक क्षमता, आत्मसम्मान, स्वआर्जन र नेतृत्व सशक्तिकरणमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले युवा पुस्ताले स्टार्टअप, उद्यमशीलता र दिगो नेतृत्वमार्फत असल नागरिकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, कार्यक्रमले सहभागी युवाहरुलाई राष्ट्रसंघीय संरचना, दिगो विकास लक्ष्य (SDGs), जलवायु परिवर्तन, मानव अधिकार र अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा संलग्न गराउने उद्देश्य राखिएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले यस्तो अभ्यास युवाहरूका लागि विश्व शान्ति र सहिष्णुता बुझ्ने थलो भएको बताइन्। उनका अनुसार, युवा पुस्ता समावेशी र शान्तिपूर्ण विश्व निर्माणका लागि परिवर्तनकर्ता हुन सक्छन्।
यस अभ्यासमा सरश्वार, सिरहा निवासी प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनले सक्रिय सहभागिता जनाइरहेका छन्। बाल अधिकार, सामाजिक न्याय र युवा नेतृत्व क्षेत्रमा लामो समयदेखि क्रियाशील रायनले यस अभ्यासबाट अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक अभ्यास सिक्न पाउनु गर्वको विषय भएको बताए।

चारदिने अभ्यासका लागि महासचिव दिवससिंह खड्का र महानिर्देशक अनुराधा थापा चयन भएका छन्। अभ्यासमा पाँच प्रमुख समितिहरू गठन गरिएका छन्:
1. FAO (खाद्य तथा कृषि संगठन)
o अध्यक्ष: अभिनव सिंह थापा
o उपाध्यक्ष: सुभाश्री पाण्डे
o एजेन्डा A: जलवायु-लचिलो दिगो कृषि र पोषण सुरक्षा
o एजेन्डा B: कृषि व्यापार र बजार पहुँचमार्फत खाद्य सार्वभौमिकता

2. UNSC (सुरक्षा परिषद्)
o अध्यक्ष: सैयद अमन अहमद
o उपाध्यक्ष: हृदय कान्डोई
o एजेन्डा: गाजामा अनिकाल रोक्ने र मानवीय पहुँच सुनिश्चित गर्ने

3. UN Women (संयुक्त राष्ट्र महिला समिति)
o अध्यक्ष: प्राञ्जली कनेल
o उपाध्यक्ष: अनमोल घिमिरे
o एजेन्डा: प्रविधि-सहज यौन शोषण र बेचबिखन विरुद्ध अन्तर्राष्ट्रिय कानुनी संरचना सुदृढ पार्ने

4. UNHCR (संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालय)
o उच्चायुक्त: रोज सिंह
o उप-उच्चायुक्त: भार्गवी वस्ती
o एजेन्डा: दीर्घकालीन विस्थापनको अवस्थाका लागि मानवीय पहुँच र संरक्षण

5. International Press (अन्तर्राष्ट्रिय प्रेस समिति)
o प्रमुख: शिवली श्रेष्ठ
o सम्पादक-इन-चीफ: प्रत्युष पन्त
o एजेन्डा: खुला

सत्रको प्रारम्भमा सबै समितिका अध्यक्ष तथा प्रमुखहरूले आफ्नो समितिको संरचना, एजेन्डा र कार्यशैलीबारे विस्तृत परिचय दिएका थिए। अन्त्यमा सबै प्रतिनिधिहरू तथा सहभागीहरू नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलबाट बिदा भएका थिए।
सहआयोजक ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जिव भट्टराईका अनुसार, खुला अनलाइन आवेदनको आधारमा देशभरका ७७ जिल्लाबाट १६ देखि २४ वर्ष उमेर समूहका १०० जना युवा छानिएका हुन्।

यस अभ्यास कार्यक्रमले युवा पुस्तालाई व्यक्तिगत, पेशागत र कूटनीतिक उचाइमा पुर्‍याउने सुनौलो अवसर प्रदान गरेको छ। सहभागीमध्ये एक प्रतिनिधि मोहम्मद नाईम रायनले सम्मेलनबाट प्राप्त अनुभव भविष्यमा सामाजिक रूपान्तरणको अभियानमा उपयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रम जेठ १७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय