पहाडबाट मधेस हुँदै सेटिङमा गाँजा भारत तस्करी हुँदै आएको खुलेको छ। शनिबार रातीट्रकसँग ठोक्किएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि सेटिङमा तस्करी हुने गरेको हो।

सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्वबाट पश्चिमबाट गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर दक्षिणतर्फ गइरहेको बा ८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। सो कारमा खोजतलास गर्दा तयारी गाँजाका पोका भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

कारबाट बरामद पाँच वटा पोकाको गाँजाको तौल १ क्विन्टल ३० किलो रहेको प्रहरीले जनाएको छ। कार र ट्रक तथा ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् भने कारका चालक फरार भएका छन्।

स्थानीयका अनुसार, दुर्घटनामा परे लगत्तै चालकले कारबाट गाँजा र नम्बर प्लेट झिकेर ई–रिक्सामालोड गरेर भाग्न खोजेका थिए। त्यसपछि स्थानीयहरूले रोकेपछि उनी सबै छाडेर भागेका थिए। यस विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख पण्डितले जानकारी दिए।

धनगढीमाई नगरपालिकाको उत्तरबर्ती सर्रेअम्बास क्षेत्रबाट गाँजा जिरोमाईल–बरियारपट्टी सडक हुँदै भारत तस्करी हुँदै आएको स्थानीय बताउँछन्। जिरोमाइल चोकमा प्रहरीको उपस्थिति रहन्छ। गाँजा कारमा लोड भएको स्थान धनगढीमाई नगरपालिका –१२ विष्णुपुरकट्टीको क्षेत्र पर्छ। प्रहरीकै उपस्थिति रहेको स्थानबाट तयारी गाँजा कारमा लोड भएर भारततर्फ जाँदा पनि प्रहरीले थाहा नपाउनुले सेटिङ प्रष्ट भएको स्थानीय बताउँछन्। प्रहरीकै उपस्थितिमा कार चालक फरार भएको स्थानीयको आरोप छ।

इलाका प्रहरी कार्यालय गतमहिनाबारा प्रहरीले १ सय ७० किलो गाँजासहित २ जनालाई पक्राउ गर्‍यो। कोल्हवी नगरपालिका–५ सोनाभार गाउँबाट भारततर्फ तस्करी गर्न सीमावर्ती दिनदयाल चौधरीको घरमा लुकाई छिपाइ राखेको २१ पोका गाँजासहित दिनदयालकी श्रीमती ५२ वर्षीया मनमतिदेवी चौधरी र ५० वर्षीय रमोद चौधरीलाई पक्राउ गरिएको थियो।

यस्तै, बालुवा र गिट्टीसँगै सप्तरीबाट गाँजा भारत तस्करी भइरहेको खुलेको छ। सप्तरी प्रहरीले बालुवा लोड भएको ट्रकबाट १७ क्विन्टल लागूऔषधगाँजा नियन्त्रणमा लिएपछि तस्करी नयाँ तरिका खुलेको हो।

प्रहरी गाँजा नियन्त्रणमा लिएको सप्तरीको राजगढ गाउँपालिका–४ माबालुवागिट्टी भण्डारण गरी राख्ने र भारततर्फ तस्करी हुने गरेको छ।ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको हो।

पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर भण्डारण गर्ने र यहाँबाट कोसी नदी हुँदै ढुङ्गामा वा बालुवा गिट्टीमा लुकाएर भारत तर्फ तस्करी हुने यहाँका लागि नियमित घटना हुन। सप्तरीबाट गाँजाको तस्करी व्यापक हुँदै आएपनि एकै पटक १७ क्विन्टल गाँजा पक्राउ गरिएको यो पहिलो पटक हो।

बारा प्रहरीले केही दिनअघि गाँजा बोकेको ट्रकसहित दुई जनालाई पक्राउ ग¥यो। हेटौँडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।

यसअघि भदौ ५ गते हावा भरिएको ट्युबमा काठ बाँधेर त्यसमा प्लास्टिकका नौ वटा बोरामा २४० किलो गाँजा राखीकोसी नदी हुँदै भारततर्फ लैजाने तयारी हुँदै थियो। त्यति नै बेलात्यहाँपुगेको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद ग¥यो।

यसै गरी भदौ ४ गते प्रहरीले वीरगन्ज महानगरपालिका २१ बाट डब्लुबी ११ई ९०३३ नम्बरको तेल ट्याङ्करबाट ४६ वटा पोकामा रहेको १७२ किलो तयारी गाँजा बरामद ग¥यो। भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजासहित ट्याङ्कर चालक भारत उत्तर प्रदेशको गाजीपुर जिल्लाका ३९ वर्षीय लालबिहारी यादव पक्राउ परे।

साउन ३१ गते पनि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १ स्थित जिल्ला ट्राफिक कार्यालयअगाडि बिरामी बोक्ने एम्बुलेन्सको सिटबाट गाँजाका बोरा बरामद भयो। को१च ७५७७ नम्बरको बिरामी बोक्ने एम्बुलेन्सको सिटमा राखिएको पाँच वटा बोरामा ल्याइएको ९० किलो तयारी गाँजासहित चालक धनगढीमाई नगरपालिका ९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले पक्राउ ग¥यो। लहान हुँदै गाँजा लिएर भारत जाँदै गरेको एम्बुलेन्स नियमित चेकजाँच गर्दा उनी पक्राउ परेका थिए।

त्यस्तै साउन १ गते रौतहटको राजपुर नगरपालिका ६ कुटियामा पार्किङ गरी राखिएको डिएल–४ सिएनबी नम्बरको स्कोर्पियो जिपबाट सशस्त्र प्रहरीले १९२ किलो गाँजा बरामद ग¥यो। पहाडी जिल्लाबाट ल्याइएका बोराका बोरा गाँजा सप्तरीको हुनमान नगर कंकालिनी नगरपालिकाको कोसी क्षेत्रबाट डुङ्गामा राखेर कोसी नदी हुँदै भारततिर तस्करी हुँदै आएको छ। कहिलेकाहीँ सशस्त्र प्रहरी र नेपाल प्रहरीले गाँजा बरामद गरे पनि मुख्य कारोबारी भने पक्राउ परेको पाइँदैन।

पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी हुँदै भारततर्फ तस्करी हुन्छ। कोसी ब्यारेजबाट डुङ्गामा राखेर पनि भारततर्फ गाँजा तस्करी हुने गरेको छ। सप्तरीबाट गाँजा तस्करीका लागि डुङ्गा र ट्युब साधन बनेका छन्। त्यहाँबाट तस्करी हुने गाँजाको मुख्य स्रोत उदयपुर रहेको जानकारहरू बताउँछन्।

‘सप्तरी र सिरहामा हुने छिटफुट गाँजा उत्पादनले तस्करीको यो व्यापक सञ्जालको माग धान्दैन’, उनीहरू भन्छन्, ‘पहाडी जिल्लाबाट गाँजा ल्याएर सिरहाको बरियारपट्टी, ठाढी, नर्गी, जानकी नागर लगायत र सप्तरीको बेल्ही, कोसीको बाटो हुँदै भारत पु¥याउने गरिएको छ।’ उनीहरूका अनुसार सिरहादेखि पर्सासम्मका नाकाबाट तस्करी हुने गाँजाको स्रोत पहाडी जिल्ला मकवानपुर र धादिङ रहेको जानकारहरू बताउँछन्। यी जिल्लाबाट कार, जिप, ट्रक, एम्बुलेन्स, ट्याङ्कर मार्फत गाँजा भारत पु¥याउने गरिएको पाइएको छ।

स्रोतका अनुसार नेपालमा दुईदेखि ४ हजार रूपैयाँ प्रतिकेजी पर्ने गाँजा भारतमा २० देखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। कमलगानी र कम समयमा अत्यधिक आम्दानी हुने भएकाले गाँजा कारोबारमा तस्कर सञ्जाल व्यापक हुँदै गएको छ। कारोबारीहरू भारतर्फ नै बस्ने भएकाले भरिया मात्र पक्राउ पर्ने प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीका अनुसार सवारी चालक र भरियासँग ‘आर्थिक डिल’ भइसकेकाले अधिकांशले कारोबारीबारे मुख खोल्दैनन्।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहाका सीमावर्ती नाकाबाट भारत भित्र्याउने गाँजा पहाडी जिल्लाबाट ल्याएर सुरक्षित स्थानमा भण्डारण गरिन्छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोजसम्म मात्र दुई हजार २२५ किलो गाँजा बरामद भएको छ। अहिलेसम्मकरिब ती हजार किलो गाँजा बरामद भएको तथ्याङ्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय