पाँचथर — असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा ज्यान गुमाएका नागरिकको परिवार र आफन्तलाई पाँचथर समाज काठमाडौंले राहत रकम उपलब्ध गराएको छ ।

समाजले बुधबार सदरमुकाम फिदिमममा कार्यक्रम आयोजना गर्दै यहाँका ८ जनाका परिवार र आफन्तलाई राहत रकम उपलब्ध गराएको हो । बाढी पहिरोमा परी फिदिम नगरपालिकाका ६ सँगै फालेलुङ र फाल्गुनन्द गाउँपालिकाका १–१ जनाको ज्यान गएको थियो भने ३ जना बेपत्ता छन् । समाजले ज्यान गुमाएका नागरिकको परिवारलाई समवेदना पत्रसहित प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले नगद उपलब्ध गराएको हो ।

समाजले २०७८ र २०८० सालमा आएको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिक र तिनका परिवारलाई पनि राहत वितरण गरेको थियो ।

पाँचथरमा घर भएर राजधानी काठमाडौंलाई कर्मथलो बनाएका नागरिकहरुको सक्रियतामा स्थापना भएको पाँचथर समाजले स्रोत जुटाएर विपदमा परेका, दीर्घरोग लागेर उपचार नपाएका तथा आर्थिक स्रोतको अभावमा उपचार गराउन नसकेका नागरिकलाई सहयोग गर्दै आएको अध्यक्ष होमकुमार लावतीले बताए ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले विपदमा सहयोग गर्दै आएको पाँचथर सेवा समाजलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय