सिरहा । सिरहा कारागारमा अवैध कारोबार हुने गरेको छ । कारागार भित्र कैदीवन्दीलाई मदिरादेखि लागुऔषधको सहज उपलब्धतासँगै अवैध कारोगार फस्टयाएको छ । कारागार प्रशासन र कारागार सुरक्षाकर्मीको मिलोमतोमा अवैध कारोवार फस्ट्याएको श्रोतको भनाइ रहेको छ ।
कारागारभित्र अवैध कारोबार भईरहेको विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सर्च गरेको छ । करिब ४ घण्टा सर्च अपरेसनमा कारागारभित्र चुरोट र खैनी बरामद भएको छ । प्रमुख जिल्ला अधिकारी दाहाल नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले अनुगमन गरेका थिए । जिल्लाका सुरक्षा समितिका सबै पदाधिकारी सम्मिलित अनुगमन टोलीले करिब ४ घण्टा कारागारभित्र सर्च अपरेसन’ चलाएको कारागारका खरिदार सन्तोष यादवले बताएका छन् ।

सर्च अपरेशनका क्रममा कारागारभित्र सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कारागारमा बरामद भएका अवैध बस्तुहरू नियन्त्रणमा लिइएको र अनुसन्धान अघि बढाइएको उनले जनाए ।
डिएसपी नेतृत्वमा छानबिन समिति
मदिरा र लागुऔषधको अवैध कारोबार सिरहा कारागारमा भईरहेको सार्वजनिक भएपछि घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुखसमेत रहेका डिएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिरहा र कारागार कार्यालय सिरहाका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
छानबिन समितिलाई आइतबार देखि छानबिन गर्ने गरी १५ दिनभित्र जिल्ला सुरक्षा समितिमा प्रतिवेदन बुझाउन समय तोकिएको छ । छानबिन समितिले कारागारभित्र हुने अवैध कारोबार र त्यसमा संलग्नताहरुको पहिचान गरी अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समितिमा बुझाएपछि दोषी देखिएकाहरुलाई कारबाही गरिने प्रजिअ दाहालले बताए ।
चौकीदार छनौट गर्न समिति गठन
सिरहा कारागारमा नयाँ चौकीदार छनौट गर्न समिति बनाईएको छ । कारागारभित्रको आन्तरीक प्रशासनलाई व्यवस्थित गर्न कानून अनुसार चौकीदार छनौट गर्ने गरिन्छ । अहिले कारागारमा चौकीदार नभएकोले नयाँ चौकीदार छनौट गर्न समिति गठन गरिएको छ ।
कारागार प्रमुखको नेतृत्वमा समितिमा जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी रह्ने गरी समिति गठन गरिएको थियो । समितिले कारागारमा सजाय भुक्तान गरिरहेका राम हृदय दास, सन्तोष सिंह, रुपेश यादव र सुरेश ठाकुरसित कारागारमा अन्तरवार्ता लिई अन्तिम निर्णय गर्न मन्त्रालय पठाएको थियो । उनीहरुको नाम छनौट गरी मन्त्रालय पठाएपनि अन्तिम निर्णय नआउँदै चारैजनाले चौकीदारको जिम्मेवारी लिन नसक्ने गरी लिखित रुपमा निवेदन नै पेश गरेका थिए । त्यसपछि चौकीदार छनौट रोकिएको छ ।
यस अघि चौकीदार रहेका कैलाश ठाकुरलाई विवादका कारणले भुम्का कारागार सरुवा गरिएको थियो । कारागारमा चौकीदार–१, भाईनाईके–१, नाईके ६४ र सह–नाईके १६ जना रह्ने कारागारका खरिदार सन्तोष यादवले बताए ।



