सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जिल्लाको सीमा नदी कमला नदीमा भाँसिएर अलपत्र रहेको पक्की पुल छेउमै ‘अस्थायी’ पुल बनेको छ ।
पुलमा सर्वसाधारणलाई आवतजावत गर्न सिरहा नगरपालिकाले पुल बनाईदिएको छ । यसअघि नदीमा निजी रुपमा बनाईएको बाँसको अस्थायी पुलमा आवतजावत गर्दा प्रतिव्यक्ति ५० रुपैया देखि १०० रुपैया तिर्नुपर्ने बाध्यता रहेको थियो । अब नगरपालिकाले उक्त नदीमा बाँसको अस्थायी पुल बनाईदिएपछि सर्वसाधारणहरु निःशुल्क रुपमा पैदल आवतजावत गर्न पाउने भएको छ । यस्तै मोटरसाईकललाई लिएर ओहोरदोहर गर्न २० रुपैयाँ तिर्नुपर्ने छ । २० रुपैयाँमा आवत र जावत गर्न दुवै तर्फबाट लागू हुने सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीन कुमार यादवले अस्थायी पुलको उद्घाटनको क्रममा जानकारी दिए ।

सिरहाबाट जनकपुरधाम जान ३० किलोमिटर बाटो तय गर्नुपर्छ । कमला नदीमा बनाईएको पुल भत्किएपछि नदीमा बाढी आएको बेला करिब ९० किलोमिटर तय गरेर सर्वसाधारणलाई जनकपुरधाम पुग्नुपर्ने हुन्छ । तर नगरपालिकाले नदीमा बाँसको अस्थायी पुल बनाईदिएपछि मोटरसाईकल चालकहरुलाई पनि आवतजावत गर्न सहज भएको छ ।
पटक पटक विभागीय मन्त्रीहरुले पुलको अनुगमन गर्दै अस्थायी पुल निर्माण गरिदिन ठेकेदार कम्पनीलाई निर्देशन दिएको थियो । मन्त्रीको निर्देशन दिएपनि नदीमा पुल नबनेपछि अहिले नदीमा बाढी आउने मौसममा सर्वसाधारणलाई आवतजावत गर्न बाँसको अस्थायी पुल बनाईएको सिरहा नगरपालिकाका नगरप्रमुख डा. यादवले बताएका छन् । नगरपालिकाको क्षेत्राधिकारमा नपरेपनि यात्रुहरुले आवतजावत गर्दा भोगिरहेको कठिनाईलाई मध्यनजर गर्दै अस्थायी पुल निर्माण गरिएको नगरप्रमुख यादवले बताए ।

प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पुलको दुवै तर्फ नगरपालिकाबाट कर्मचारी खटाइएको हो । उनले मोटरसाईकल वापत लिइने शुल्क कुनै व्यक्तिको नभई नगरपालिकालाई राजस्व जाने जानकारी दिए । त्यसको लागि नगरपालिकाको राजस्व बिल नै दिइने प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् ।
सिरहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईन्द्रजित कुमार गोठिया (यादव) ले नगरपालिकाको तर्फबाट बाँसको अस्थायी निर्माण गरिदिएको छ । यसअघि व्यक्तिगत रुपमा पुल निर्माण गरी लाखौँ रुपैयाँ असुल्दै आएका केही स्थानीयहरुलाई सार्वजनिक सम्पतिमा रजाई गर्नबाट वडाध्यक्ष गोठिया (यादव) ले रोकेको हो । सरकारी शुल्क अनुसार रकम लिएर सबै रकम सरकारलाई जाने उनले बताए । सोही राजस्वबाट पुनः पुल मर्मत सम्भारसमेत गरिने वडाध्यक्ष यादवले बताए ।

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पुल निर्माणको लागि प्रक्रिया मिलाएको वडाध्यक्षले बताए । प्रमुख प्रशासकीय अधिकृत यादवले सर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएपछि पुल निर्माणको लागि प्रस्ताव गरिएको बताए ।
वडाध्यक्षको यस कार्यलाई चौतर्फी प्रशँसा गरिएको छ । विगतका बर्षहरुदेखि नै नगरपालिकाले अधिनश्थमा लिएर राजस्व उठाउन सक्ने सयौँ सल्लाह सुझाव दिँदै आएको थियो । तर, त्यहाँका केही स्थानीयहरुले व्यक्तिगत फाईदाको लागि नगरपालिकाले निर्माण गर्ने पूललाई रातारात भत्काईदिने, बगाईदिने कार्य गर्दै आएको छ ।

त्यस्तै सिरहा नगरपालिका वड नं. ५ का वडाध्यक्ष जागेश्वर यादवले कमला नदीमा पुलको लागि पटक पटक आन्दोलन, आमरणअशन समेत गरे तर यहाँका प्रदेश तथा संघीय सरकारले झुठा आश्वासन बाहेक केही गर्न नसकेमा दुखेसो पोखे, साथै कमला नदीमा नयाँ पुल निर्माणको प्रकृया अगाडी नसारे पुनः आन्दोलनको शुरुवात हुन सक्ने उनले बताए ।

४७० मिटर लामो पुल २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्न सम्झौता गरिएपनि हालसम्म सम्पन्न भएको छैन् । उक्त पुलको निर्माण कार्य सम्पन्न भएपनि सुचारु नहुँदै करिब तीन–चार बर्ष पहिले नदीमा आएको बाढीका कारण भाँसिएको थियो ।
१३ वटा पाया र १२ स्पान (स्ल्याब) सहित निर्माण भईरहेको कमला पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भाँसिएको थियो । सम्झौता अनुसार २०७१ मंसीर ३० सम्म निर्माण सम्पन्न भईसक्नुपर्ने कमला पुल ढिलाइ र बेवास्ताकै कारण १३ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । पुलको शिलान्याश त्यतिबेला भौतिक तथा पूर्वाधार मन्त्री हृदेश त्रिपाठीले गरेका थिए ।

तराई मधेसको लाईफलाईन समेत मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा सिरहा, धनुषा र सप्तरीसम्मका सर्वसाधारणलाई निकै सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय