सिरहा। प्राचिन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बड़ा दशै पर्वको पहिलो दिन आज सिरहा अर्नमा-५ किसनपुर दुर्गा टोलमा कलशयात्राका साथ घटस्थापना गरिदै छ। दशै पर्वलाई मिथिलामा दशहरा भनिन्छ। मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमी सम्मको पर्वलाई शारदीय र चैत्र शुक्लपक्षको प्रतिपदादेखी नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ। देविपूजन र आराधनामा दुबै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिले देखी नै धुमधामले मनाउने प्रचलन रहेको पक्का मैथिल बताउछन् ।
मिथिलाका देवी शक्तिपीठहरूमा कन्याकुमारीहरूले आज धार्मिक महत्त्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिरपरिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलशयात्राका कार्यक्रम भइरहेका छन् ।

सिरहाका प्रसिद्ध देवी शक्तिपीठ अर्नामा गाउपालिका-५ किसनपुरको दुर्गाटोलमा घटस्थापनाका लागि कलशयात्रा भएको छ। सन्हैठा गणेशपुरको बिचमा रहेको पवित्र सहजा नदीबाट नयाँ घडामा जल भर्न बिहानै देखी झाँकी र बाजागाजासहितको कलशयात्रा भएको छ। कलशयात्रामा गाँउँ, बस्तीका आमसर्वसाधारणको सहभागिता रहेको छ।
कलशयात्रामा कन्याकुमारीहरूले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ। घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ। नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् ।
दशहरा पर्व सुरु भएसँगै मिथिलामा मंगल धुन गुञ्जिएको छ। बस्तीबस्तीमा देवी भजन भइरहेको छ। दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ।




