वीरगञ्ज – रौतहटमा बिहीबार राति भएको छुटाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका–४ मा ईरिक्साले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। मधेस प्रदेश ०३–००१ ह ३४१४ नम्बरको ईरिक्साको ठक्करबाट जिल्लाकै गढीमाई नगरपालिका–१ घर भई गरुडामा बस्दै आएका ३५ वर्षीय राम साह रौनियारको मृत्यु भएको हो।

ईरिक्साको ठक्करबाट टाउकोमा चोट लागि घाइते भएका रौनियारको उपचारको क्रममा हेल्थ ल्याण्ड हस्पिटल गरुडामा उपचारपछि थप उपचारको लागि बाराको नौतनमा रहेको एलएस न्युरोमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ईरिक्सा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसैगरी बिहीबार राति आफैले चलाएको मोटरसाइकल अनियन्त्रि भई पल्टिँदा रौटहटको कटहरिया नगरपालिकामा चालकको ज्यान गएको छ। कटहरिया–गम्हरिया सडकखण्डमा मधेस प्रदेश ०३ ०२८ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक कटहरिया नगरपालिका–९ का २६ वर्षीय रामजन्म पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।




