जनकपुर — मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा सहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयकलाई अगाडि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीले मुख्यमन्त्री सतिशकुमार सिंहको ध्यानाकर्षण गराएका छन् ।जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री सिंहलाई भेटेर मानवअधिकारकर्मीले मधेश सहिद प्रतिष्ठानले मधेशलगायत आन्दोलनका सहिद तथा घाइतेलाई मात्र समेटेकोमा सो संस्थाको कार्यक्षेत्रभित्र अन्य बेलाका सहिद, घाइते र द्वन्द्वपीडितलाई राख्नेगरी कानुन ल्याउन माग गरे । उनीहरूले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुनलाई समेत अगाडि बढाउन मुख्यमन्त्री सिंहलाई आग्रह गरे ।
विभिन्न चरणमा छलफल भई दुवै कानुनका मस्यौदाले अन्तिम रूप लिइसकेको र केही कानुनी प्रक्रियासमेत अघि बढिसकेको भन्दै छिटो दुवै विधेयक पारित गराउन उनीहरूले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री सिंहले कानुनको मस्यौदामा थप परिमार्जन गर्न दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाई विधेयकलाई अघि बढाइने बताए ।




