काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दियो ।

चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन्,’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउँदै अध्यक्ष खत्रीले भने ।

उनले योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न नपाएमा तिनलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने पनि उनले बताए । विद्यार्थीहरूबाट उठेको शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने उनको भनाइ थियो ।

अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखौं खर्च गरेर सानै उमेरका विदेशिनु गलत प्रवृत्ति विकास भएको बताए । उनले भने,‘प्लस टु पास हुने बित्तिकै विदेश जानुभन्दा पनि दक्ष भएर सीप सिकेर विश्वको जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी जानुपर्छ ।’  कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने दावी उनको थियो ।

पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उनको भनाइ थियो । उनले कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेको समेत दावी गरे । नेपाल इन्जिनियरिङ कलेज स्थापनाकालदेखि नै सामुदायिक कलेजका रूपमा सञ्चालनमा रहेको बताए ।

तत्कालीन अवस्था चाँगुनारायण गाउँ विकास समितिले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएको थियो । कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको र शुल्क पनि कम गरिएको कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले  बताए ।

कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट),  सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट),  कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट),  सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेकाे छ ।
स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट,  नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र  स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २०० रोपनी जग्गामा पूर्वाधार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय