सिरहा । सिरहामा नेपाली कांग्रेसका नेता कार्यकर्ता पार्टी परित्याग गरेर सय भन्दा बढी नेता कार्यकर्ताहरूले नेकपा एस (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार सदरमुकाम सिरहामा रहेको सिरहा पुस्तकालयको सभाहलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिरहा नगरपालिका वडा नम्बर ७ का नेपाली कांग्रेस तर्फबाट २०७९ मा वडा अध्यक्षका उम्मेदवार चन्देश्वर यादव लगायतका नेता कार्यकर्ताहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।


नव प्रवेशीहरूलाई एकीकृत समाजवादीका सिरहा जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य प्रमोद कुमार यादव सहितका नेताहरूले टीका र माला लगाएर स्वागत गरेको थियो ।

एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष तथा सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी सिरहा जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य प्रमोद कुमार यादव, प्रदेश सदस्य राम नन्दन मण्डल, रविन्द्र साह, दिवाकर यादव, जिल्ला सचिव योगेन्द्र सिंह, जिल्ला सदस्य देवेन्द्र यादव लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको नगर सचिव तथा उदघोषक मनोज कुमार मण्डलले बताए ।





