सिमकोट- चङ्खेली गाउँपालिकाले विद्यालय र स्वास्थचौकीलाई बस र एम्बुलेन्स हस्तान्तरण गरेको छ। केही समय अगाडि भारतीय दूतावासबाट गाउँपालिकाले सहयोगस्वरूप पाएको यातायातका साधन विद्यालय र स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको हो।
गाउँपालिका अध्यक्ष पारिलाल शाहीले भारतीय दूतावासबाट गाउँपालिकाले सहयोगस्वरूप पाएका सवारीसाधन विद्यालय र स्वास्थ्यचौकीलाई सञ्चालनका लागि प्रदान गरिएको बताए।

बस उक्त गाउँपालिका– २ को महादेव माध्यामिक विद्यालय दार्मालाई र एम्बुलेन्स वडा नम्बर २ कै दार्मा स्वास्थ्यचौकीलाई प्रदान गरिएको छ।
हाल महादेव माविमा अध्ययनरत विद्यार्थीहरू एकदेखि डेढ घण्टा पैदल हिँडेर विद्यालय जाने गर्छन्। विद्यालयले बस सहयोग पाएपछि अब विद्यार्थीहरूले त्यसरी हिँडेर जानु नपर्ने भएको छ।
चङ्खेलीका छमध्ये वडा नम्बर ५ बाहेक अन्य वडामा सडक निर्माण कार्य भएर हाल निजी यातायातका साधन सञ्चालन भइरहेका छन्।
आफ्नै बस सेवा प्रदान गर्ने उक्त विद्यालय जिल्लाकै पहिलो भएको छ। त्यसैगरी, हालसम्म उक्त गाउँपालिकामा एम्बुलेन्स थिएन। गाउँपालिकाका सडक नपुगेको वस्तीबाट बिरामी भएकाे अवस्थामा मानिसले बोक्ने र स्टेचरमा लैजानुपर्ने अवस्था छ।
अध्यक्ष शाहीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिइएको भएपनि छवटै वडाका स्थानीय बिरामी भए सेवा प्रदान गरिने जानकारी दिए।
विद्यालय र स्वास्थ्यचौकीले अब सञ्चालन कार्यविधि निर्माण गरेर सेवा प्रदान गर्ने जनाएका छन्।




