सिरहा । छिमेकी देश भारतको प्रसिद्ध धार्मिक स्थल अयोध्यामा आज भगवान रामको जन्मस्थलमा निर्माणधीन मन्दिरको प्राण प्रतिष्ठाको भव्य आयोजना भैरहेको छ । यस विशेष अवसरलाई लिएर सिरहा सहित देशभर रौनक थपिएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन देशभरका विभिन्न स्थानीय तहले अपिल गरेको छ । पालिलकाहरुले सूचना जारी गर्दै भारतको अयोध्यामा हुने राममन्दिर प्राण प्रतिष्ठाका दिन सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो ।
सिरहा नगरपालिकाले भारत र नेपालबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले सिरहावासीका लागि पनि जनवरी २२ निकै महत्वपूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ ।


गत बुधबार सुरु भएको हवन तथा पूजन कार्य सोमबारसम्म चलेको छ । त्यसपछि रामललाको प्राणप्रतिष्ठा हुँदैछ । यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो । राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न भएको भने आज रामललाको प्राणप्रतिष्ठा हुँदैछ ।
गत बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो । रामललाको अभिषेकअघि उनको आसन पनि तयार गरिएको छ । रामललाको मूर्ति ५१ इन्च अग्लो छ ।
रामललाको मूर्ति गर्भगृहमा राख्नुअघि राममन्दिर परिसरमा रहेको रामललाको प्रतीकात्मक मूर्तिको भ्रमण गरिएको थियो । मूर्ति फूलले सजाइएको पालकीमा ल्याइएको थियो ।

रामको ससुराली जनकपुरधाम राममय
राममन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भएको छ । जानकी मन्दिरका उत्तराधारी महन्त रामरोशन दासका अनुसार राममन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ ।
साथै त्यो दिन उत्सवका रूपमा पनि मनाउने योजना रहेको उनले बताए । उनले राममन्दिरको प्राण प्रतिष्ठाका दिनलाई ध्यानमा राखी तयारी तीव्र बनाइएको पनि बताए । राममन्दिरको उद्घाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि उनले आग्रह गरेका छन् ।
राममन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ ।



