सिरहा । प्रहरीकै अगाडी मिटरब्याजीबाट पीडित कुटिएपछि सिरहाका मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरु बुधबार बेलुकी ६ बजे देखि विहीवार विहान ८ बजे सम्म खुला आकाशमुनि धर्नामा बसेका हुन् ।
बुधबार दिउँसो सिरहा जिल्ला अदालत परिसरमै साहुबाट मिटरब्याज पीडितमाथि कुटपिट भएपछि उनीहरू सामूहिक धर्नामा बसेका हुन् । सिरहाको विष्णुपुर गाउँपालिकाका मिटरब्याजी श्याम निरौलाले पीडितहरू ककुलती देवी यादव र सुकुमारी देवी साहमाथि कुटपिट गरेका थिए ।

निरौलामाथि अनुचित लेनदेनका विषयमा अदालतमा मुद्दा चलिरहेको छ । उनीमाथि चार दर्जनभन्दा बढी उजुरी र जाहेरी छ । यसै मुद्दामा पक्राउ परेर गत असारमा तीन लाख धरौटीमा उनी रिहा भएका थिए । सोही मुद्दाको बकपत्रका लागि अदालत गएका पीडितहरूमाथि कुटपिट भएको हो ।
घटनापछि प्रहरीले निरौलालाई पक्राउ गरेपनि केहीबेरमै छाडिदिएपछि पीडितहरू आक्रोशित छन् । कुटपिट घटनामा उनीमाथि कारबाही हुनुपर्ने माग पीडितहरुको छ । तर सिरहा प्रहरी पीडितमैत्री नभई पीडकमैत्री भएको धर्नामा बसेकाहरुको आरोप छ ।
चिसो मौसममा पनि संघर्षमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थिति आएको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानको भनाइ छ । उनले निरौलालाई प्रहरीले पुनः कारबाही प्रक्रिया अगाडि बढाएपछि धर्ना स्थगित गरे ।



