सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सुरु गरेको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २२ हजार राष्ट्रिय परिचय पत्र छपाई गरी जिल्ला प्रशासन कार्यालय सिरहामा आएपछि परिचय पत्र विहीबारदेखि वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत समेत रहेका सूचना अधिकारी भवेश कुमार झाले बताएका छन् ।

सूचना अधिकारी झाले मिर्चैया नगरपालिका–९ का जितेन्द्र पंडितलाई राष्ट्रिय परिचय पत्र कार्ड हस्तान्तरण गरी सिरहा जिल्लामा वितरण कार्य शुभारम्भ गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामै पुगेर बायोमेट्रिक दर्ता गराएका २२ हजार जनाको राष्ट्रिय परिचय पत्र प्राप्त भएको सूचना अधिकारी झाले बताए । मिर्चैया नगरपालिका–९ का जितेन्द्र पंडितले २०७७ सालमा विवरण दर्ता गरेकोमा विहीबार बल्ल राष्ट्रिय परिचय पत्र प्राप्त गरेको बताए । पंडितले ढिलो गरी भएपनि पहिलो चरणमै राष्ट्रिय परिचय पत्र प्राप्त गर्दा आफूलाई निकै खुशी लागेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले परिचय पत्र छापिएर आएपछि आ–आफ्नो मोबाइलमा म्यासेज आउने भएकाले म्यासेज प्राप्त भएका सेवाग्राहीलाई कार्यालयमा आएर परिपच पत्र बुझ्न आग्रह गरेको छन् । जिल्ला प्रशासन कार्यालयले केही समयअघि जिल्लाको १७ वटै पालिकामा टोली खटाएर राष्ट्रिय परिचय पत्रका लागि विवरण लिने काम गरेको थियो । टोली खटिएर विवरण संकलन गरेकाहरुको भने परिचय पत्र छापिएर अझैं समय लाग्ने भएको छ ।



