सिरहा । नेपाली काँग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले एकले अर्कालाई नसहने प्रवृत्तिले पार्टीमा समस्या आएको बताएका छन् । सबै मिलियो भने मात्र परिणाम सकारात्मक आउने भन्दै काँग्रेस प्रवक्ता महतले भने,‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बिपी कोइरालाले पार्टीको नेतृत्व गर्दा गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन् । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरू भएर यस्तो भन्नु बेकारको कुरा हो ।’
सिरहामा नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले संस्थापक निर्णय लिएर जनताको बीचमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रूपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ । ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ ।’
नेपाली कांग्रेस पार्टी दुःख, सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवास, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको सम्झना गरेका मन्त्री डा महतले आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन् भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको बताएका छन् । नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको उनले दाबी गरेका छन् ।

नागरिकता समस्या मधेशमा वढी
‘नागरिकताको समस्या मधेशमा बढी छ, त्यसलाई अरू कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ’, नेता डा. महतले भने,‘मधेशवादी दलहरूले पनि त्यो विषयलाई निष्कर्षमा पु¥याउन सक्ने अवस्था थिएन् । नेपाली कांग्रेसले मात्र निष्कर्षमा पु¥याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ ।’
भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नेपाली कांग्रेस नभएको भन्दै उनले सरकार पूरा समय टिक्ने विश्वास व्यक्त गरेका छन् । ‘हामी परिणाम देखाएर काम गर्ने पक्षमा छौँ’ उनले भने,‘सिरहाको शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सडक सञ्जाल र भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । समयमै गृहकार्य गरेर आउँदो बजेटमा यो क्षेत्रको धेरै समस्या सम्बोधन गर्ने प्रयास गर्ने मन्त्री डा. महतले दावी गरेका छन् ।



