भारतसँग सीमा जोडिएको सिरहाको लचकाटोल (सिरहा नगरपालिका–१७) हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बजेट अभाव छ । पहिलो चरणमा ४० करोड विनियोजन गरी ठेक्का लगाउँदा सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कदेखि गुलरीयामा रहेको बहिरा विद्यालयसम्म करिब अढाई किलोमिटरको काम हुँदैछ । ४० करोडको बजेट विनियोजन गरिएपनि निर्माण कम्पनीले करिब २५ करोडमा निर्माण गर्ने सम्झौता गर्यो । जसले सरदर प्रति किलोमीटर १० करोड रुपैयाँ परेको देखिन्छ । अर्कोतर्फ सहिद राजेश ठाकुरपार्कदेखि हेमनारायण चौकसम्म आरसीसी ढलान गर्न ४ करोड रुपैयाँमा अर्को ठेक्का भएको थियो । सडक ढलानको काम सकिएको छ ।
एनएच–२० नामाकरण गरिएको यो सडकखण्डलाई चारलेनमा विस्तार गर्ने योजना रहेको छ । जसको पहिलो र दोस्रो चरणको काम भईरहेको छ । अहिले थप काम गर्न सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन अहिले निर्माण भईरहेको चारलेन अन्र्तगतको सडकको आधार लिदाँ एक किलोमीटरसम्मको काम गर्न सकिने अवस्था रहँदैन् । सिरहा नगरपालिकाले सदरमुकाम सिरहादेखि माडर बजारसम्मको सडक क्षेत्रमा पर्ने संचरनामाथि डोजर लगाउँदा २ अर्ब भन्दा वढीको क्षति भएको छ । गत वैशाख १२ देखि सुरु भएको डोजर अभियानको क्रममा अहिले पनि सडक क्षेत्र पूर्ण रुपमा क्लियर भएको छैन् । कतिपय घरहरु अहिले पनि भत्काउने काम भईरहेको छ ।

माडर–सिरहा–चोहर्वा सडक विस्तारको काम तिव्र रुपमा हुनुपर्छ । यसको निम्ति पर्याप्त बजेट चाहिन्छ । खुदे्रे आयोजना जस्तो कनिका छर्किनु हुँदैन् । चालू आर्थिक वर्ष २०८०/०८१ को निम्ति विनियोजन गरिएको ९ करोडमा एक किलोमीटर पनि सडक निर्माणको सम्भावना रहँदैन् । ९ करोड बजेट विनियोजन गरिएपनि टेण्डर प्रकृयामा जाँदा झन् बिलो जाने प्रचलन रहेको छ । यसले सडकको गुणस्तर नै खस्किन सक्ने र जुन प्रारुपको सदरमुकाम बनाउनु पर्ने त्यस अनुसारको बजेट नभएको देखिन्छ । यसैले सरकारले रणनीतिक रुपमा पनि महत्वपूर्ण रहेको यस खण्डको सडक विस्तारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्न तर्फ ध्यान दिनु जरुरी थियो । अहिले पनि समय छ । बजेटलाई होल्ड गरेर राख्ने चलन पनि रहेको छ । त्यस्तो बजेट माडर–सिरहा–चोहर्वा सडकखण्डमा विनियोजन गर्नुपर्छ । यस क्षेत्रको सडक पूर्ण रुपमा निर्माण पूरा हुँन करिब २ अर्ब रुपैयाँ चाहिन्छ । यसको निम्ति सरकारले आवश्यक निर्णय गर्नु जरुरी छ ।



