गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ । निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो ।
निर्वाचन कसुर ऐनको दफा ३१अनुसार कारबाही गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘१५ हजार जरिवाना र सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न भनेका छौँ’, उनले भने ।

उनका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ ।
सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवाना थपिने उनले बताए ।




