मकवानपुर । पछिल्लो समय हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा पुनः चर्चा सुरु भएको छ । सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय हेटौंडाले सडक सीमा क्षेत्रमा निर्माण गरिएको घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेसँगै सडक विस्तारको चर्चाले स्थान पाएको हो ।
असार १० गते डिभिजन सडक कार्यालय हेटौंडाले सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन सूचना जारी गरेको थियो । योसँगै लामो समयदेखि रोकिएको हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषय चर्चामा आएको हो ।

३५ दिनभित्र सडक सीमा अभिक्रमण गरी बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन हेटौंडाले हटाउने र सो बापत् लाग्ने शुल्क सम्बन्धित निर्माणकर्ताबाट असुल गरिने समेत जनाइएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले सडक क्षेत्रको संरचना हटाउन सूचना जारी गरे पनि सो विषयमा तयारी भने गर्न सकेको छैन । कार्यालयले उक्त सडक क्षेत्र अन्तर्गत कति घरटहरा अवस्थित छन् भन्ने यकिन तथ्याङ्क नै राख्न सकेको छैन भने ३५ दिने सूचना पश्चातको तयारीका विषयमा पनि कनै योजना बनाएको देखिँदैन ।
राजमार्ग अन्तर्गत रहेको हेटौंडा बजार क्षेत्रको मुख्य बजारका घरहरु भत्काउने विषयमा डिभिजन सडक कार्यालय हेटौंडाले एशियाली विकास बैंक (एडीबी) मार्फत् क्षतिको विवरण संकलन प्रक्रिया थाले पनि पूर्णता पाउन सकेको छैन । सो कार्य बीचैमा अलपत्र अवस्थामा छाडेर एडीबीका तथ्याङ्क संकलक फर्किसकेका छन् ।
कार्यालयको आग्रहमा विगत २ महिनादेखि एडीबीको टिमले हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि भौतिक संरचना भत्काउँदाको क्षतिको विवरण संकलन सुरु गरे पनि हाल सो काम रोकिएको र संकलकहरु पनि फिर्ता भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले जानकारी दिए ।
सो तथ्याङ्कको आधारमा सडक विस्तारका लागि डीपीआर निर्माण गर्ने तयारी थियो । साउन १६ सम्म सूचनालाई बेवास्ता गरी घर टहरा नहटाए कानुनी तबरबाट अघि बढ्ने र सो विषयको योजना केही दिनमै तयार गर्ने यादवले जनाए ।
हेटौंडा बजारबाट पश्चिमतर्फ राप्ती पुल पारी हेटौंडा–११ थानाभर्याङदेखि मनहरी गाउँपालिकाको लोथरसम्म (करिव ४० किलोमिटर) सडकमा २५ मिटर विस्तार गर्न कुनै अवरोध छैन । ती स्थानमा सडक सीमा क्षेत्रको अवरोध हटिसकेका छन् भने हेटौंडा–१५ रातोमाटेदेखि बाराको अमलेखगञ्ज–पथलैयासम्म पनि बिना अवरोध सडक विस्तार हुने अवस्था छ ।
‘राज्यले नै नागरिकलाई आतङ्कित बनायो’
सडक क्षेत्रमा घर तथा जग्गा परेकाहरुले सडक विस्तारको विषयमा पटकपटक सूचना जारी गरेर राज्यले नागरिकहरुलाई आतङकित बनाएको गुनासो गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सडक विस्तारको विषयमा आयोजित छलफलमा सहभागीहरुले राज्यले हेटौंडा बजार क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरुलाई आतङ्कित पार्ने काम गरिरहेको बताएका हुन् ।
सडक सीमा २५ मिटर कायम हुनु अघिदेखि नै हेटौंडा बजार क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरुलाई सुकुमबासी बनाउने काममा राज्य अग्रसर भएको उनीहरुको भनाइ छ ।
व्यवसायी एवम् सडक सीमा क्षेत्रमा संरचना परेका उत्तम शर्मा ढकालले कार्यालयले नियम विपरीत अधिकार दुरुपयोग गरेर संरचना हटाउन सूचना जारी गरेको बताए । उनले राजमार्गको सीमा २५ मिटर भएपनि कार्यालयले सूचनामा २५ गज कायम गरी सूचना जारी गरेको बताए ।
सडक सीमा अन्तर्गतको ७ फिट जग्गा प्राप्तिको प्रक्रिया भने कार्यालयले अघि नबढाएको भन्दै उनले आपत्ति जनाएका थिए । उनले २०३१ सालमा राप्ती पुलबाट पश्चिम र रातोमाटेबाट दक्षिण तर्फका नागरिकलाई क्षतिपूर्ति दिएर सडक सीमा खाली गरी मालपोत तथा नापीमा लगत कट्टा गरिएकाले सो क्षेत्रमा समस्या नरहेको बताए । तर, हेटौंडा बजार क्षेत्रमा बने सो कार्यले निरन्तरता नपाएकाले नागरिकहरुलाई क्षतिपूर्ति नै वितरण नगरिएका कारण लगत कट्टासमेत नभएको उनको भनाइ छ । सोही कारण हालसम्म हेटौंडा बजार क्षेत्रको घरजग्गाको कर तथा रजिष्ट्रेशन पास हुने गरेको उनले बताए ।
त्यस्तै हेटौंडा–९ का सुरेन्द्र भट्टराईले कार्यालयले अधिकार क्षेत्र विपरीत सडक क्षेत्रको २५ गज क्षेत्र खाली गर्न सूचना जारी गरेको बताए । उनले सार्वजनिक सडक ऐन विपरीत सर्वोच्चको आदेशका आंशिक विषयहरुलाई समेटेर सूचना जारी गरेको बताए ।
हेटौंडा–१ का सुवर्णलाल श्रेष्ठले सडक विस्तारका नाममा राज्यले नागरिकहरुलाई दुःख दिने काम गरेको बताए । सडक सीमा विस्तार गर्दै राज्यले नागरिकहरुको घरजग्गा अतिक्रमण गर्ने योजना बनाएको उनको भनाइ छ ।
मुआब्जा नदिए उद्योग वाणिज्य संघले प्रतिकार गर्ने
मकवानपुर उद्योग वाणिज्य संघ भने सडक विस्तार पूर्व हेटौंडा बजार क्षेत्रका नागरिकहरुलाई मुआब्जा नदिए सशक्त प्रतिकारमा उत्रिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन नहुने बताए । सडक क्षेत्रको जग्गाको लालपूर्जा अmझैसम्म पनि नागरिकहरुसँगै रहेको भन्दै राज्यले जबरजस्ती गर्न नपाउने उनको भनाइ छ ।
अदालतको मानहानी हुने गरी फैसलाको २७ वटा बुँदा नै नहेरी सडक सीमा खाली गर्न भन्दै जारी भएको ३५ दिने सूचना गलत भएको उनले बताए ।
बाइपास सहित सडक क्षेत्र १६÷१६ मिटर कायम गर्न एमालेको माग
नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले राज्यको कमजोरीका कारण विगतदेखि नै हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य अघि बढ्न नसकेको बताए ।
सडक विस्तारमा जग्गा अधिग्रहणको प्रक्रिया पूरा गरेरमात्र अघि बढ्नु पर्ने अन्यथा सो कार्यले पूर्णता नपाउने उनको भनाइ छ । रातोमाटेदेखि दक्षिण र राप्तीपुलाट पश्चिम तर्फको क्षेत्रमा सडक सीमा निर्धारण गरी लगत कट्टा गरिएका कारण सडक विस्तार कुनै समस्या नरहेको उनको भनाइ छ । आफू पनि सडक विस्तारको पक्षमा रहेको तर राज्यले उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने उनले बताए ।
हेटौंडामा बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखेर सडक विस्तार गर्नु आजको आवश्यकता भए पनि उचित विकल्पसहित कार्य अघि बढाउनुपर्ने भन्दै उनले उचित विकल्पसहित कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।
उक्त विकल्पको रुपमा राजमार्गको सीमा क्षेत्र १६-१६ मिटर कायम गरी बाइपास सडक निर्माण गरेर अघि बढ्नु उत्तम हुने उनको भनाइ छ । बाईपास निर्माण गरेर हेटौंडालाई सडकको बीचबाट दायाँबायाँ १६–१६ मिटर सडक फराकिलो बनाउँदा सबै समस्या समाधान हुने उनले बताए ।
बजार क्षेत्रको बाटो ४ लेनको निर्माण गर्ने र राप्ती पुलबाट दक्षिणतर्फ रातोमाटेसम्म बाइपास सडक निर्माण गर्दा क्षतिसमेत कम हुने उनी बताउँछन् ।
सडक विस्तार रोक्न सकिँदैन : कांग्रेस
नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले सडक विस्तार कार्य रोक्न नसकिने बताए । सडक विस्तार कार्य प्रभावित पार्नकै लागि विगतदेखि नै बाइपास र राजमार्गको सडक १६÷१६ मिटर कायम गर्ने विषय उठ्ने गरेको उनले बताए ।
सडक विस्तारमा कोही पनि बाधक बन्न नहुने भन्दै उनले अध्ययन र तथ्याङ्क संकलन गरेर मुआब्जा दिएर काम अघि बढाउनुपर्नेमा जोड दिए । संविधानले व्यवस्था गरेको नागरिकहरुको अधिकारमाथि हस्तक्षेप गर्ने अधिकार राज्यसँग पनि नरहेकाले अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलानले सबैले सहजीकरण गरेर हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा पहल गर्नुपर्ने बताए । सडक विस्तारसँगै क्षतिपूर्ति वितरणका लागि अध्ययन कार्यलाई अघि बढाउनु उत्तम हुने उनको भनाइ छ ।
निरीह नागरिकको व्यवस्थापन उपमहानगरपालिकाले गर्छ : मेयर लामा
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा बजार क्षेत्रको सडक विस्तारका क्रममा सुकुमबासी हुने तथा निरीह नागरिकको व्यवस्थापन उपमहानगरपालिकाले गर्ने बताएकी छन् । उनले विकासमा कसैले पनि बाधा पुर्याउन नहुने भन्दै सडक विस्तारको क्रममा क्षति भएका निरीह नागरिकको उचित संरक्षण गर्न उपमहानगरपालिका तयार रहेको बताइन् ।
उनले भनिन्, ‘सडक विस्तारको क्रममा पेटीमा रोपिएका अशोकका रुख व्यवस्थापनको विषयमा चिन्ता लिने उपमहानगरले आफ्ना नागरिकको पीडा हेरेर बस्दैन । समस्यामा परेका नागरिकको लागि उपमहानगरपालिका छ ।’
सर्वोच्चको आदेश कार्यान्वयनमा दबाब रहेको भन्दै मेयर लामाले हेटौंडा बजार क्षेत्रका व्यवसाय गर्दै आएका व्यवसायीको उचित व्यवस्थापन गरिने बताइन् । राजमार्गलाई बाइपास गर्न पटक पटक गरेको प्रयास असफल भएको भन्दै उनले सडक विस्तारमा कुनै विकल्पको नाममा समस्या खडा गर्न नहुने प्रस्ट पारिन् ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले विकासमा बाधा नपुर्याइ उचित निकास निकाल्नु पर्ने बताए । उनले दिगो बजार व्यवस्थापनमा उपमहानगरपालिकाले नीतिगत रुपमा निर्णय गरेर सडक विस्तारमा समन्वय गर्ने निर्णय गरेको बताए ।
सडक विस्तारका क्रममा आफू पनि पीडित हुने भन्दै उनले बजारलाई व्यवस्थित गर्न अघि बढेको उनले बताए । उपमेयर बानियाँले सडक विस्तारको विषयलाई गिजोलेर अनावश्यक राजनीति गर्न नहुने बताए ।
सडक विस्तारको विगत
२०७३ साल पुस १४ गते हेटौंडा बजार क्षेत्रमा पहिलो पटक सडक विस्तारका लागि डोजर चलेको थियो । ५२ वर्ष अघि २०२१ सालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतका क्षेत्रमा सडकको बीचबाट दायाँबायाँ २५÷२५ मिटर फराकिलो बनाउने काम गर्ने घोषणा गरिएको थियो ।
सोही अनुसार २०२१ देखि २०३४ को १३ वर्षको अवधिमा उक्त ७ फिट जग्गामा बनाएको संरचना भत्काउँदा मात्रै क्षतिपूर्ति दिन सर्वोच्चले आदेश दिएको थियो ।
त्यस बीचमा सडक विस्तारको विषयमा खासै काम हुन सकेन । सो अवधिमा हेटौंडा बजार क्षेत्रमा सवारी चाप र बस्ती पातला थिए । जसले गर्दा सडक विस्तारमा कसैको पनि चासो गएन ।
सडक डिभिजन कार्यालय मकवानपुरले २०६९ भदौ १५ गते २५ मिटर चौडाइ सडकमा अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो । तर उक्त सूचनाको विरुद्धमा सर्वोच्च अदालतमा रिट पर्यो ।
तत्कालीन मध्यामञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको पहलमा सुरु भएको सडक विस्तार अभियान राजनीतिक दलको दबाब तथा सर्वोच्चको ‘स्टे अर्डर’ को कारण रोकिएको थियो ।
केसीको पहलमा हेटौंडा बजार क्षेत्रका केही घर भत्काइयो । सरकारी संघ संस्थाले आफ्नो कार्यालयको क्षेत्र सडक सीमा अनुसार भित्र सारे । तर मुख्य बजार क्षेत्रमा भने सडक विस्तार हुन सकेन । बजार क्षेत्रमा सडक सीमाभित्र रहेका घर अझै पनि उस्तै छ । सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७६ कात्तिक ६ गते परमादेश जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो ।



