काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा सिंगापुरमा मात्र नियमित उपचार गराउँदै आएका छन् । मंगलबार (आज) राति ११ देउवा ‘फलोअप’का लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ !

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेन ।

भानुका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो । देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएको देखिन्छ । ‘करिब डेढ दशक अघि वीर अस्पताल र टिचिङमा धेरै उपचार गराउनु भयो । टिचिङमा मधु घिमिरेले हेर्नु भएको थियो,’ भानुले रातोपाटीलाई भने, ‘रोग नै पत्ता लागेन । पछि सिंगापुरमा उपचार गराउँदा पेटमा समस्या देखियो ।’

उनका अनुसार २०७३ भदौ १० मा देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका थिए । त्यसपछि २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए ।

त्यतिबेला आँखासँगै पेटमा समस्याको पनि उपचार गरिएको थियो । ‘सिंगापुरमा उहाँको आँखाको समेत उपचार गरेपछि चस्मा लगाउन छाड्नु भएको हो । आँखाको लेन्सको समस्या थियो, अहिले निको भएको छ,’ उनले भने ।

भानुका अनुसार त्यसको ११ महिनापछि ९ जेठ २०७६ मा देउवा पुनः सिंगापुर गएका थिए । चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको छ । भानुका अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा सोमबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन् ।

आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै छन् । देउवाका साथ भानु पनि जाने भएका छन् । भानुले भने, ‘मेडम (आरजु) हिजो नै गइसक्नु भएको छ । आज हामी जाँदैछौं ।’

देउवा प्रधानमन्त्री रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका चिकित्सक रहेका डा. शैल रुपाखेतीले देउवामा कुनै स्वास्थ्य समस्या नरहेको बताए ।

उनले रातोपाटीलाई भने, ‘मैले ११ महिना उहाँको स्वास्थ्यबारे नजिकबाट हेरेको छु । उहाँमा कुनै समस्या छैन । ब्लड रिपोर्ट त मेरोभन्दा राम्रो छ ।’

देउवाले सामान्य डोजको प्रेसर सम्बन्धी औषधिमात्र सेवन गर्ने गरेको डा. रुपाखेतीको भनाइ छ । उनले भने, ‘उहाँले २.५ को डोजमा प्रेसर सम्बन्धी औषधि सेवन गर्नुहुन्छ । अरु कुनै रोगको औषधि सेवन गर्नु परेको छैन ।’

डा. रुपाखेतीका अनुसार १०–१५ वर्षअघि देउवाले सिंगापुरमा आँखाको उपचार गराएका थिए । उनले भने, ‘पहिले उहाँले चस्मा लगाउनु हुनुहुन्थ्यो । १०–१५ वर्षअघि सिंगापुरमा आँखाको उपचार गराएपछि उहाँले चस्मा लगाइराख्नु परेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय