सिरहा । सिरहाको औरही गाउँपालिकामा चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको आईतबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका छन् ।
उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका गरी आयोजना हुने अश्वमेघ महायज्ञले जीवन र अध्यात्मको महत्व दर्शाउँदै मानिसमा अनुशासन कायम गर्ने विश्वास व्यक्त गरेका छन् । यस पवित्र भूमिमा गरिएको गायत्री महायज्ञको प्रभावले मानिसको अन्तरहृदयमा प्रेम, एकता, सहयोग, सद्भाव, इमान्दारिता, सदाचार तथा सत्विचार अझ बढ्ने विश्वास लिएको उनले बताएका छन् ।

यस्तै सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले गायत्री महायज्ञले मातृशक्तिको महत्व बुझाउने बताएका छन् । ‘महिला शिक्षित हुँदा परिवार, समाज तथा देशमा दिगो शान्ति स्थापना हुन्छ,’ उनले भने,‘यस महायज्ञले प्रवाह गर्ने आध्यात्मिक चेतनाले पर्यावरणको महत्वलाई पनि सुदृढ बनाउनेछ ।’
महायज्ञ आयोजक समितिका संयोजक तथा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले गायत्री मन्त्रोच्चारणसहित हुने महायज्ञले मानिसमा अध्यात्मिक चिन्तन बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । महायज्ञको पहिलो दिन आइतबार हजारौँको संख्यामा महिलाहरुले कलश यात्रा गरेका थिए । यात्रामा नेपाल तथा छिमेकी राष्ट्र भारतका विभिन्न गाउँबाट समेत महिलाको सहभागिता रहेको थियो । महायज्ञ चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
६ वर्ष अघि प्रथम राष्ट्रपतिद्वारा उद्घाटन
यस अघि ६ वर्ष पहिले अर्थात सन् २०१७ मा पनि सिरहाको औरही गाउँपालिकामा १०८ कुण्डली गायत्री महायज्ञ सुरु भएको थियो । महायज्ञको उदघाटन प्रथम राष्ट्रपती डा रामवरण यादवले गरेका थिए । त्यस क्रममा हजारौं महिला, बालिकाहरुको कलश यात्रामा सहभागीता रहेको थियो ।



