२० चैत, काठमाडौं । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् ।
बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ ।
सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग पनि घटेको थियो । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो । यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।



