सिरहा । सिरहामा भएको हत्याको घटनाको आरोपित रिहा हुन सक्ने भन्दै पीडित परिवार र गाउँबासीले जिल्ला अदालत सिरहा दिनभरी घेराउ गरी प्रर्दशन गरेका छन् ।
पक्राउ परेका अभियुक्तलाई अदालतले रिहाई गर्न सक्ने भन्दै पीडित परिवार सहित स्थानीय गाउँवासीले जिल्ला अदालत सिरहामा दिनभरी घेराउ गरी नाराबाजी गरेका छन् । गत मंसिर ९ मा सिरहाको बरियारपट्टी गाउँपालिका–१ नरगीका श्यामदेव यादवका ३० वर्षीय रामशंकर यादवको कुटपिटबाट मृत्यु भएको थियो । त्यस घटनामा संलग्न रहेका बरियारपट्टी गाउँपालिका–१ नरगीका अजय साह र बडहरीका दिपु यादवलाई जिल्ला अदालत सिरहाले छाड्न लागेको भन्दै पीडित परिवार र स्थानीय गाउँलेहरुले वुधवार दिनभरी अदालत घेराउसँगै नाराबाजी गरेका थिए । अदालतको मुख्य गेटमा धर्ना बस्दै उनीहरुले चर्को नाराबाजी सहित हत्यारालाई रिहा गर्न नहुने र पीडित परिवारले न्याय पाउनु पर्ने माग गरेका थिए ।
बाहिर चर्को नाराबाजी र प्रर्दशन भईरहँदा अदालतको इजलाश नम्बर २ मा कर्तव्य ज्यान मुद्दाको सुनुवाई भईरहेको थियो । आरोपितहरुको बयान लिने काम भईरहँदा नाराबाजी जारी थियो । आरोपितहरुको बयान सकेपछि पक्ष र विपक्षका वकिलहरुले बहस गरेका थिए । बहस साँझ ६ बजेसम्म चलेको थियो । इजलाश नम्बर २ मा बहस भईरहँदा बाहिर महिला, पुरुष, जेष्ठ नागरिक लगायतको खबरदारी जारी थियो ।
वुधवार साँझ ७ बजेतिर जिल्ला अदालत सिरहाका इजलाश नम्बर २ का न्यायधिश लीलाराज अधिकारीले आदेश जारी गर्यो । दुवैपक्षको बहस, आरोपितद्वयको बयान, बरादमी लाश मुचुल्का, मतृकको शव परिक्षण प्रतिवेदन, प्रहरी प्रतिवेदन, घटना विवरण कागजको व्यहोरा सहितका कागजी प्रमाणको आधारमा पुर्पक्षको कारागार पठाउने आदेश गरेको छ । न्यायधिश अधिकारीले तत्काल प्राप्त प्रमाणहरुबाट प्रतिवादीहरु कसूरदार भएकोले थप प्रमाणहरु बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमाजिम पूर्पक्षको लागि कारागार पठाउने आदेश गरेको छ ।
अदालतको आदेशपछि पीडित परिवार र गाउँबाट आएकाहरु घर फर्किएका छन् ।
जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टाराईले ज्यानसम्बन्धी कसूरमा थुनछेक बहस सकेर उलब्ध प्रमाणको आधारमा पूर्पक्षको निम्ति दुवैजनालाई कारागार पठाउने आदेश भएको बताएका छन् ।

मोटरसाईकल दुर्घटनाको नाउँ दिएपनि यसरी भयो घटना
मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सकिएर मतगणना जारी रहेको थियो । मंसिर ९ मा हत्या आरोपमा पक्राउ परेका दीपु यादवका भाई डम्बर यादवले खाजा खान मृतक यादवलाई फोन गरी बोलाएका थिए । दुवैजना मोटरसाईकलमा नवराजपुर गाउँपालिका–५ सुन्दरपुरमा रहेको एक होटलमा पुगेर खाजासँगै मदिरा सेवन गरेका थिए । त्यसपछि डम्बर यादवले आफूलाई घर छाडिदिन भनेपछि मृतक यादवले बडहरी स्थित डम्बरको घर पुग्यो । त्यहाँबाट पुनः डम्बरले नेपाल–भारत सीमा छेउमा रहेको आफ्नो मदिरा पसलमा जान आग्रह गरेका थिए । सीमा छेउका मदिरा पसल यादवका दाजु दीपु र नरगीका अजय साहको संयुक्त लगानीमा संचालनमा रहेको छ । त्यही पसलमा मदिरा सेवनकै क्रममा मृतक यादवलाई निर्घाट कुटपिट गरिएको थियो ।
त्यसपछि नरगीमा रहेको आफ्नो नयाँ घरमा ल्याएर पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको थियो । त्यस घटनालाई मोटरसाईकल दुर्घटनामा परिणत गर्न यादवले भरपूर कोसिस गरेका छन् । स्थानीयका दबाबपछि प्रहरी त्यस घटनामा संलग्न रहेको भन्दै अजय र दीपुलाई पक्राउ गर्यो ।
कारागार चलान भएका दीपुको रेडर्क खराब
प्रहरी र स्थानीय अनुसार हत्या आरोपमा पक्राउ परेका ४६ वर्षिय दीपु यादवको रेकर्ड खराब रहेको प्रहरी स्रोतको दावी छ । नेपाल–भारत सीमामा मदिरा पसल संचालन गर्ने र गोदाम राखेर नेपालबाट ठूलो परिमाणमा मदिरा भारत तस्करी गर्दै आएको प्रहरीको भनाई छ । स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीलाई पनि आर्थिक प्रलोभनमा राख्दै निर्वाध रुपमा मदिराको तस्करी गर्दै आएको स्थानीय अगुवा अशोक यादवको भनाई छ ।
१० वर्ष अघि आफ्नै श्रीमति फूलोदेवीको पनि हत्या गरेको स्थानीयवासीको भनाई छ । श्रीमतीलाई कुटपिट गरी हत्या गरी झुण्ड्याएको र स्थानीय प्रहरीलाई मोटो रकम दिई घटना लुकाएको स्थानीयवासीले बताएका छन् ।
यस्तै गाउँका एक दलित समुदाय सुकदेव सदायको छोरा रामदेव सदायको पनि कुटपिट गरी हत्या गर्दै झुण्ड्याएका थिए । आफ्नै श्रीमतिसँग अवैध सम्बन्ध रहेको जानकारी पाएपछि गुनासो गरेका सदायलाई उनले कुटपिट गरी हत्या गरेका थिए । त्यस घटनालाई पनि यादवले ढाकछोप गर्न सफल भएका थिए ।
त्यसपछि आफ्नै भारतीय मदिरा कारोबारका साझेदार एक जनालाई हत्या गरी सीमा छेउकै सरस्वती नदीमा शव फालिएको थियो । हत्या गरी शव तीन दिन आफ्नै कोठामा राखेर गतवर्षको इन्द्रपूजामा नदीमा शव फालेको स्थानीयवासीले बताएका छन् ।



