सिरहा । सिरहामा हत्याका घटना बढेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरेको अर्को एक घटना सिरहाको मिर्चैया नगरपालिकामा मंगलवार घटेको छ । घाँस काट्न गाउँ नजिकैको जंगलमा गएकी सिरहाको मिर्चैया नगरपालिकाकी एक महिलाको मंगलबार हत्या भएको खुलासा भएको छ । मिर्चैया नगरपालिका–२ की २६ वर्षीया लक्ष्मीनियाँ कापरको शव अरहिया सामुदायिक वनमा हत्या भएको अवस्थामा मंगलबार अपराह्न फेला परेको छ ।
मल्हनीय पिरारी नजिकै रहेको अरहिया सामुदायिक वन कर्जन्हा नगरपालिका–६ मा हत्या भएको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि वली अनुसार जंगलमा हत्या गरेको अवस्थामा कापरको शव मध्यानमा भेटिएको जनाएका छन् । कापरको घाँटी र पेटमा धारिलो हतियार प्रहार गरिएको र अत्याधिक रक्तश्रावबाट हत्या भएको प्रहरी नायव उपरीक्षक वलीले जनाएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसंधान अनुसार घाँस काट्न जंगल गएकी मृतक लक्ष्मिनियासँगै गाउँकै अर्की एक महिला पनि सँगै गएकी थिइन् । दुई जना जंगल गएका बेला लक्ष्मिनियालाई तीन जना युवाले लछार–पछार गर्न थालेपछि जंगलमा लुकेकी अर्की महिलाले गाउँमा हत्या खबर गरेकी थिईन् । सो घटनाको बारेमा गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सूचना पाएपछि घटनास्थल पुगेको डीएसपी वलीले जानकारी दिएका छन् ।
घटनामा संलग्नता आरोपमा एक पक्राउ
प्रहरीले घटनामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । स्थानीयले घटनालगत्तै तीन जनाको नाममा किटानी जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएपनि प्रहरीले आलटाल गर्दै एक जनालाई मात्र पक्राउ गरेका छन् । प्रहरीको रवैया घटना लुकाउने खालको भएको भन्दै स्थानीयले जाहेरी दर्ता गर्ने भनेको र प्रहरीले नमानेपछि विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गको मल्हनीयाखण्डमा २ घण्टासम्म राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्गमा टायर बालेर स्थानीयवासीले प्रर्दशनमा उत्रिएपछि प्रहरी ब्याक भएको थियो । प्रहरीले घटनालाई उग्र रुप लिनबाट रोक्न जाहेरीको आधारमा दिईएको नाउँमध्ये एक जनालाई पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक वलीले घटनाको अनुसन्धान भइरहेको र प्रत्यक्षदर्शी महिलाको बयानको आधारमा एक जनालाई पक्राउ गरिएको बताए ।



